२०८२ चैत २९, आइतबार
७:२४:५२ बेलुका
- ADVERTISEMENT -

आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्व अाजदेखि शुरू, यस्ताे छ महिमा

प्रकाशित मिति: २०७५ कात्तिक २५, आइतबार

1472
Shares

कार्तिक, २५ । प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार अाज देखि शुरू भएकाे छ ।

मुख्य विधि अन्तर्गत पहिलो दिन ( चतुर्थी ) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ। यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख ,समृद्धि र चर्म रोग निको हुने जनविश्वास छ।

सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो। सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको संसारमा यही एक यस्तो पर्व हो, जसमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ। यस पर्वमा चाहिने भाँडाकुडा र वस्तुको बन्दोवस्त एक महिना अगाडिदेखि नै गर्न थालिन्छ।

छठको पहिलो दिन (चतुर्थी) व्रतीले भोजनमा माछामासु ,लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी यसै दिनदेखि ब्रत बस्न थाल्दछन्। पर्वको दोस्रो दिन ( पञ्चमी ) खरना गरिन्छ, जसलाई पापको क्षय पनि भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस ( खीर ) अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन्।

यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ। तेस्रो दिन (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ। सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन्।

परिकारहरू जलाशयको किनारमा राख्नु अघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन्। त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप अरिपन चित्र कोरेका हुन्छन्। त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन्। यस क्रममा व्रतीले दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन्।

पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ। यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन्। अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ। व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ।

सूर्यलाई आदिदेवता पनि भनिन्छ। मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ। रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए। उत्तर वैदिककालका मिथिलाका प्रसिद्ध चिन्तक र दार्शनिक याज्ञवल्क्यले सूर्यलाई गुरू मानेका थिए।

वैदिक साहित्यको मुख्य सार सूर्य उपासना नै हो। वेदमा सूर्यलाई ऐश्वर्य र ऋग्वेदमा सबै देवताको स्रोत, महाभारतमा सम्पूर्ण जगत्का प्राणीसित सम्बद्ध भएको बताइएको छ। सृष्टिका सबै जीव र वनस्पति सूर्यको तापबाट बाँचेका छन्। त्यस्तै सूर्योपनिषद्मा ब्रह्मा, विष्णु र रूद्र भनिएको छ। महाभारतमा धर्मराज युधिष्ठिर सूर्य स्तवन गर्दै सूर्यलाई ब्रह्मा, विष्णु र रूद्रका अतिरिक्त इन्द्र, प्रजापति, अग्नि, मनु, प्रभु, चराचर जगत्का पालनकर्ता र मोक्षदाता रूपमा वर्णन गरिएको छ।

ऐतरेय ब्राह्मण उपनिषद्मा सूर्यको उत्पति सन्दर्भमा सूर्यलाई पार्थिव अन्तरिक्ष एवम् दिव्य अग्निको पिण्ड भएको उल्लेख गर्दै अग्निमा सोमको आहुतिबाट सूर्यको उत्पति भएको भनिएको छ। यसका अतिरिक्त वैज्ञानिक, ज्योतिषी तथा चिकित्सकहरूले सूर्य तत्वबाट आफ्नो ज्ञान, अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेको प्रसङ्ग पनि पाइन्छ। सूर्यको किरणबाट चिकित्साबारे देश विकासका कैयौं चिकित्सकहरूले ग्रन्थ लेखेका छन् तथा कैयौं असाध्य तथा अक्षय रोगहरूको आश्चर्यजनक उपचार खोजिएको पनि छ।

अथर्ववेदमा खुट्टा, जोर्नी, तिघ्रा, काँध, मस्तक, कपाल तथा मुटुसम्बन्धी रोगहरूको उपचार उदीयमान सूर्य किरणद्वारा निस्तेज गरिने उल्लेख गरिएको छ। सूर्यद्वारा चर्मरोगसम्बन्धी रोगको अचुक उपचार गर्नुका साथै दुसाध्य कुष्ठरोगको मुक्ति पाउनका लागि कैयौं प्राचीन साहित्यमा उपचार प्रसङ्ग पाइन्छ। संस्कृतिविद् डा. रामदयाल राकेशका अनुसार आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापले कुष्ठरोगबाट पीडित कृष्णपुत्र साम्ब सूर्यको आराधनाले रोगमुक्त भएको चर्चा गरिएको छ।

मिथिला क्षेत्रमा कुनै पनि पूजा ,अनुष्ठान इत्यादि गर्दा आरम्भमा शुद्धीकरण पछि सर्वप्रथम पञ्चदेवता र विष्णुको पूजा गर्ने प्रचलन छ। पञ्चदेवतामध्ये सूर्य पनि एक हुन्। सूर्यलाई आइतबारको देवताको रूपमा पनि चिनिन्छ। जीवनदायी शक्ति सूर्य देवता र छठी माताको उपासना गरी मनाइने यस पर्वको व्रतलाई कठिन व्रत मानिन्छ।

अत्यन्त श्रद्धा र निष्ठाले मनाइने पर्व छठ “षष्ठी” शब्दको लोककरण हो। सूर्य आरोग्यका देवताका साथै निर्धनताका निबारक पनि मानिन्छन्। छठ पर्वमा सूर्यको पूजा अर्चना गर्नु मूल तत्व मानिए पनि छठ परमेश्वरी र भगवान सूर्य उपासनाको सम्मिलित पर्व मानिन्छ।

यसरी एउटै आराध्यदेवलाई पुरूष र स्त्री दुबै संज्ञाले भक्तिभाव प्रकट गर्नुको अभिप्राय सृष्टिको प्राकृतिक स्वरूपप्रति सम्मान गर्नु हो।

पहिला मिथिलाञ्चलमा मात्र सीमित रहेको छठ पर्व अहिले सङ्घीय राजधानी काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै गएको छ। यो पर्व नै यस्तो पर्व हो, जुन अवसरमा पूजाघाटमा गाउँ टोलका नरनारी सबै भेला हुन्छन्। यसले एक–आपसमा नजिकिने मौका दिन्छ।

छठ पर्व पारिवारिक जमघटको अवसर पनि हो। परिवारबाट टाढा–टाढा बसेका व्यक्तिहरू पनि छठ पर्व मनाउन आफ्नो घर फर्कने गर्दछन्। छठ पर्वले पारिवारिक मेल र आत्मीयता अभिवृद्धिको अवसर समेत प्रदान गर्दछ।

छठ पर्व कृषि संस्कृतिमा आधारित छ। यो मूलतः मिथिलाको कृषि संस्कृतिको प्रतीक पनि हो। यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छोडेर सबै वर्ग र समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजा अर्चनाका लागि उभिन्छन्, जसलाई समन्वय र परस्पर सद्भावतर्फ उन्मुख हुने प्रेरणात्मक सङ्केत मानिन्छ।

अहिले धेरै संस्कृतिको प्राचीनता र आधुनिकताको रङ्गले केही हदसम्म परिवर्तित गरिसकेको अवस्थामा पनि छठ पर्वमा प्राचीन मौलिकताको रूप अझै पर्याप्त सुरक्षित छ। यस पर्वको विशेषता नै हो कि बदलिंदो परिवेशमा पनि परम्पराको क्रम रोकिएको छैन्, सदियौंदेखि निरन्तरता पाइरहेको छ।

आज पनि नदी, पोखरीका किनारहरूमा श्रद्धालुहरू अत्यन्त भक्तिका साथ उदय र अस्तगामी सूर्यको आराधना गरिहेको देख्दा लाग्छ कतै न कतै कुनै एउटा शक्ति विद्यमान छ, कुनै त्यस्तो आकर्षण अवश्य छ, जसले प्राचीन परम्परालाई अक्षुण्ण राखेको छ। सम्पूर्ण समाजलाई जो आफ्नो विविधतामा विभाजित भएर पनि एक सूत्रमा आबद्ध छन्, एकै ठाउँमा सबै वर्ग भेला भएर उपासना गर्दछन्।

यस प्राचीन परम्पराको दार्शनिक पक्षबाट पूर्णतया अनभिज्ञ रहेकाहरू पनि जसले भगवान् सूर्य विषयक मन्त्र र उपाख्यानहरूको अध्ययन गरेका छैनन्, उनीहरू पनि उत्तिकै आनन्दित भएर पूजा अर्चनामा तत्पर रहेका देखिन्छन्, यो नै मिथिला संस्कृतिको मूल तत्व हो।

छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो। षष्ठीका दिन षष्ठीका देवी समेतको पूजा भएकाले यस पर्वको नाम षष्ठी, छठि र छठ हुन गएको बुझिन्छ। यस पर्वमा अस्ताउँने र उदाउँने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोका रूपमा लिनु हो। छठमा धनी, गरीब, कथित तल्ला र माथिल्ला जातिहरू एकै ठाउँमा उपस्थित भइ पूजा गर्नु भनेको ईश्वरीय सत्ताको दृष्टिमा सबै समान हुन भन्ने सन्देश अन्तरनिहित रहेको पाइन्छ।

सूर्यको उपयोगिता कृषि संस्कृतिमा अपरिहार्य भएको हुनाले सूर्य प्रति कृतज्ञताको अभिव्यक्ति पनि छठ पर्वले दिन्छ। यसका साथै नारी सर्वोच्चता स्थापित गर्ने र आफ्नै खेतवारीमा उब्जने कृषि उत्पादनलाई प्रयोग गर्नु यो पर्वको थप मौलिक विशेषता हो। छठ प्रकृति र पुरूषको पूजा हो, सन्तान उत्पादनका लागि दैवी कृपाको अपेक्षा यस व्रतसँग जोडिएको छ।

जातीय, सामाजिक र सामुदायिक सद्भावमा छठको विशेष भूमिका पाइन्छ। छठको सबैभन्दा महत्वपूर्ण पक्ष यसले सबैलाई समाहित गर्छ, सदाचारले आपसी मेलमिलापयुक्त बनाउनु हो। कुलीन भनिएको परिवारका बुहारीले छठको आशीर्वाद स्वरूप प्रसादका निम्ति थापेको आँचलमा कुनै दलितको अर्घको ठेकुवा आए पनि सहर्ष स्वीकार्ने यसको विशिष्ट पक्ष मानिन्छ।

छठमा प्रायः महिलाले व्रत वस्छन् भने पुरूषले उनीहरूको पुजा सामग्री भएको ढक्की टाउकामा बोकेर घरबाट जलाशय र जलाशयबाट घरसम्म लाने ल्याउने गर्छन। यस अवसरमा समाजको पुरूष प्रधान चरित्र पनि स्थगित रहने गरेको पाइन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.07
148.67
EUR
European Euro
1
173.44
174.14
GBP
UK Pound Sterling
1
199.01
199.82
CHF
Swiss Franc
1
187.61
188.37
AUD
Australian Dollar
1
104.69
105.11
CAD
Canadian Dollar
1
107.03
107.46
SGD
Singapore Dollar
1
116.22
116.69
JPY
Japanese Yen
10
9.30
9.34
CNY
Chinese Yuan
1
21.68
21.77
SAR
Saudi Arabian Riyal
1
39.46
39.62
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.61
4.63
AED
UAE Dirham
1
40.31
40.47
MYR
Malaysian Ringgit
1
37.34
37.50
KRW
South Korean Won
100
9.98
10.02
SEK
Swedish Kroner
1
15.99
16.05
DKK
Danish Kroner
1
23.21
23.30
HKD
Hong Kong Dollar
1
18.90
18.98
KWD
Kuwaity Dinar
1
483.10
485.06
BHD
Bahrain Dinar
1
392.65
394.25
OMR
Omani Rial
1
384.60
386.16