- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

ऐतिहासिक रसुवागढीमा फहराइयो नेपाली झण्डा

October 23, 2018
2123
Shares
- ADVERTISEMENT -

रसुवा, कात्तिक ६ । नेपाल-चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालीजङ्ग गणका अनुसार नेपाल-चीनबीच सिमानामा पर्ने ऐतिहासिक गढीको धरोहर क्षेत्रलाई संरक्षण र परिचय दिलाउने उद्देश्यले झण्डाको स्तम्भ निर्माण गरी नेपाली सेना, मध्यपृतना हेडक्वाटर मकवानपुरका पृतनापति उपरथी सुवर्णबहादुर शाहले झण्डोत्तोलन गरेका हुन् ।

नेपाली सेना ६ नं बाहिनी अड्डाको निर्देशनमा स्तम्भ निर्माण गरिएको हो । गोसाइँकुण्ड गाउँपालिका, रसुवागढी जलविद्युत् आयोजना र रसुवा भन्सार कार्यालयको सहयोगमा कालीजङ्ग गणका सैनिक श्रमबाट स्तम्भ निर्माण भएको गणपति शीतल बानियाँले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -

Advertisement

साढे २८ फिट अग्लो झण्डाको स्तम्भका साथै नेपाल तिब्बत युद्धका बेला १९१२ मा भएको ऐतिहासिक विषयवस्तुसमेत स्तम्भको शिलामा राखिएको बताइएको छ । मल्लकालमै साधारण किल्लाको रुप दिइएको सो गढी बहादुर शाहका पालामा वि.सं १८४५ र १८४९ भोट र चीनसँगको लडाइँमा पनि प्रयोग भएको र वि.सं १९१२ मा जङ्गबहादुर राणाका पालामा फर्म बेसका रुपमा दुई महिना १३ दिन लगाएर निर्माण गरिएको बताइएको छ । नेपालले १८४५ को नेपाल भोट युद्ध, १८४९ को भोट चीन युद्ध र विसं १९१२÷१३ को अन्तिम युद्ध हुँदा सो गढीबाट आक्रमण र सुरक्षा गरिएको व्यहोरा नवस्थापित शिलापत्रमा उल्लेख गरिएको छ ।

कालीजङ्ग गणका गणपति बानियाँलगायत गण परिवारबाट धुञ्चेमा रात्रिकालीन हेलिप्याड निर्माण भएको र रसुवागढीमा स्तम्भसहितको झण्डा फहराइएको जस्ता महत्वपूर्ण योगदान भएको गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिनुभयो । रसुवागढी प्रदेश नं ३ अन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ मा समुद्र सतहदेखि एक हजार ८१४ मिटरको उचाइमा लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रको लिन्दे र केरुङ खोलाको सङ्गम नजिक पर्छ ।

नेपालकी राजकुमारी भृकुटीको विवाह तिब्बतका राजा स्रङचोङ गम्पोसँग गरिँदा जन्ती जाने आउने क्रममा यही बाटो प्रयोग गरिएको थियो । वि.सं २०७२ वैशाखको गोरखा भूकम्पबाट क्षति पुगेको रसुवागढीका पूरै पर्खाल पुनःनिर्माण करिब ७० प्रतिशत सकिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
www.simpaninews.com