काठमाडौ, ३१ असोज २०७५ । नक्कली नोटको कारोबार गर्नेहरु चाडवाडको मौका छोपी पुन सक्रिय हुन थालेका छन् । यतिबेला किनमेल गर्ने ठाउमा भिडभाड समेत हुने र त्यही मौका छोपी नक्कली नोटका कारोवारी सक्रिय रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेपछि प्रहरीको आशंका थप बलियो बनेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले नेपाली रुपैयाँको नक्कली नोटसहित ३२ वर्षीय अर्जुन बस्नेत भनिने पदमबहादुर बस्नेतलाई पक्राउ गरेको हो । काठमाडौँको महाबौद्धबाट १ हजारका १० वटा नक्कली नोटसहित बस्नेतलाई नियन्त्रणमा लिएको परिसरका डिएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । ‘विशेष सूचनाको आधारमा अनुसन्धान गर्दा १० हजारको नक्कली नोट भेटिएको हो’,डिएसपी बोगटीले भन्नुभयो ।

महाबौद्धमा दशैंको लागि लुगा किन्दै गर्दा उनलाई प्रहरीले पक्राउ गरेको हो । बस्नेतले लुगा किनेर दिएको रुपैयाँमा शंका लागेपछि पसलेले प्रहरीलाई खबर गरेका थिए । प्रहरी तत्काल पुगेर युवकको साथमा रहेको नोट चेक गर्दा नक्कली देखिएको डिएसपी बोगटीले बताउनुभयो । ‘दशैंको समयमा प्रायः नयाँ नोट चलनमा हुने भएकोले नक्कली नोटका कारोबारीहरु यही समयमा सक्रिय हुन्छन् । नयाँ नोट आए राम्रोसँग हेरेर मात्र कारोबार गर्नुहोला’, उहाले भन्नुभयो ।

बस्नेतबाट प्रहरीले तीनवटा फरक-फरक परिचय पत्रसमेत फेला पारेको थियो । नोट कहाँबाट ल्याए ? कसकसको संलग्नता छ भन्ने विषयमा अनुसन्धान भइरहेको डिएसपी बोगटीले बताउनु भयो । नक्कली नोटको कारोबारमा खोटा चलनमा अदालतबाट म्याद थपेर प्रहरी अनुसन्धान गर्ने गर्छ । परिसरको टोलीले गत जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । फिल्म निर्माता माधव वाग्लेले फिल्म प्रयोजनका लागि ती नोट छापेको दावी गरेका थिए । उनी पाटन उच्च अदालतबाट २५ लाख धरौटीमा छुटे पनि मुद्दा जारी छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्