काठमाडौं, असोज ३०
नेपालीहरुको महान चाड बडादसैं मनाउनका लागि तीन दिनमा १८ लाख भन्दा बढी यात्रु राजधानीबाट बाहिरिएका छन् । यो संख्या प्रत्येक दिन बढ्दै गएको छ । राजधानीको नागढुंगा, पासाङल्हामुमार्ग, बल्खु, अरनिको राजमार्ग र साँखु नाकाबाट यात्रु बाहिरिने गरेका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि उपत्यकाबाट बाहिरिनेको संख्या १८ लाख पुगिसकेको छ। महाशाखाका प्रमुख बसन्त पन्तले राजधानीबाट बाहिरिने साना तथा ठूला सवारीसाधनको चाप अत्यधिक बढेको जानकारी दिनुभयो । ‘यात्रुको चापसँगै व्यवस्थापन गर्न निकै गाह्रो भइरहेको छ,’ पन्तले भन्नुभयो, ‘प्रत्येक नाकामा अनुगमन टोली खटाएका छौं, यात्रु ठग्नेलाई कारबाही गरिरहेका छौं।’
उहाँका अनुसार १३ स्थानमा नागरिक सहायता कक्ष, ३२ स्थानमा रिफ्रेस सेन्टर, १४ जिल्लामा टाइम कार्ड व्यवस्था गरिएको उनले जानकारी दिए। गाडी बिग्रेमा तत्काल उद्धारका लागि थानकोटमा दुइटा र्याकर व्यवस्था गरिएको छ । यात्रु ठगिएको गुनासो बढेपछि पूर्व पश्चिमलगायत राजमार्गमा विभागले ’हेल्प डेस्क’ राखिएको हो।
अरू बेला दैनिक पन्ध्र सय सवारीसाधन आवतजावत गरे पनि दसैंको समयमा दैनिक ३० हजार भन्दा बढी साना तथा ठूला सवारीसाधन राजधानीबाट बाहिरिने गरेका छन्। राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरका अनुसार दैनिक ३ हजार ५ सयदेखि ४ हजार गाडी सञ्चालनमा ल्याइएको छ ।
दसैं मान्नका लागि प्रत्येक दिन बिहान पाँच बजेदेखि राति ९ बजेसम्म सवारीसाधन बाहिरिने गरेको छ । ‘नवमीसम्म प्रत्येक दिन पाँच लाखभन्दा बढीले उपत्यका छोड्छन’ स्वाँरले भन्नुभयो, ‘२५ लाख मानिस बाहिरिने अनुमान गरेका छौं, त्यसै अनुसार व्यवस्थापन गरेका छौं।’
३५ सिटे बसको १५ सय सयका दरले करिव ५५ हजार रुपैयाँ दैनिक कमाई हुने गरेको जानकारी पनि उहाँले दिनुभयो । तर एकतर्फी रुपमा सवारीसाधनले यात्रु ओसार्दा औसतमा मात्र भाडा उठ्ने गरेको छ। छोटो दुरीमा चल्ने एउटा गाडीले दैनिक १० हजार रुपैयाँ कमाउने गरेको उहाँले जानकारी दिनुभयो ।
महासंघका अनुसार गत वर्ष दसैंमा करिब २० लाख मानिस उपत्यकाबाट बाहिरएका थिए। यस पटक करिब २५ लाख नाघ्ने अनुमान छ। नागढुंगा मुग्लिन खण्डको सडकमा यात्रुले निकै सास्ती भोग्नुपरेको छ । ‘एउटा सवारीसाधनलाई कलंकीदेखि नागढुंगा पुग्न पाँच घन्टा लागिरहेको छ,’ स्वाँरले भन्नुभयो, ‘सवारी साधन बिग्रियो भने क्रेन नै छैन, सडक विभागले निकै लापरबाही गरेको छ।’