काठमाडौँ, २७ असोज २०७५ । शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आउँदो सोमबार (असोज २९ गते) बाट सर्वसाधारणले हेर्न पाउने भएका छन् ।

नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भन्नुभयो, “सोमबारबाट सबैको प्रतीक्षा सकिदैछ । सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिनेछ ।” श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री पनि प्रदर्शनीमा ल्याइँदैछ ।
दाहालका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीपेच राखिने कक्षको उद्घाटन गर्नुहुने छ । केही महिनाअघि विभागका महानिर्देशक दाहालकै संयोजकत्वमा गठित समितिले असोजभित्र श्रीपेचलाई प्रदर्शनीमा राख्न सुझावसहितको प्रतिवेदन संस्कृति सचिवसमक्ष बुझाएको थियो ।

दरबार सङग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सात वटा तहमा राखिने भएको छ । सरकारले गत आर्थिक वर्ष २०६८÷६९ को बजेट कार्यक्रममा नै श्रीपेचलाई प्रदर्शनीमा राख्ने घोषणा गरे पनि सुरक्षाको कारण देखाउँदै हालसम्म प्रदर्शनमा राख्न सकिएको थिएन ।

केही वर्षअघि नै बुलेट प्रुफ सिसासहितको सोकेस तयार गरिसकिएको थियो । त्यसमा प्रयोग गरिएको सिसाको परीक्षण गर्ने क्रममा नेपाली सेनाको कालीबहादुर गणले १६ फिट टाढाबाट गोली हान्दा प्वाल नपरी सामान्य चर्किएको मात्र थियो ।

काठमाडौँका प्रेमलाल श्रेष्ठले २०२८ सालमा सो श्रीपेच तयार गर्ने जिम्मा आफूले लिएको दावी गर्दै आउनुभएको छ । उहाँका अनुसार तत्कालीन राजा वीरेन्द्रको टाउकोको आकार २२ इन्चको थियो । राजाहरूले राज्यारोहण, राज्याभिषेक, छोरीको कन्यादान गर्ने बेला, युवराज्ञीलाई भित्र्याउँदा र तस्बिर खिचाउने बेला श्रीपेच लगाउने चलन थियो । अन्तिम राजा ज्ञानेन्द्र शाहले २०५८ साल जेठ २२ गते राज्यारोहणका दिन बाहेक छोरी प्रेरणाको बिबाहमा पहिरिनुभएको थियो ।

राजप्रसाद सेवाका तत्कालीन सचिव शम्भुप्रसाद अधिकारीले राजसंस्था रहँदासम्म श्रीपेचलाई काठको बाकसमा राखी दरबारको ढुकुटीमा राख्ने चलन रहेको बताउनुभयो । २०६५ साल जेठ २९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाड्नु भएपछि त्यसलाई सैलुन कक्षमा राखिएको थियो । हालसम्म पनि सैलुन कक्षमा नै छ । सो कक्षभित्र श्रीपेचलाई १३ वटा लाहाछाप लगाइ बन्द बाकसभित्र राखिएको छ भने कक्ष बाहिरको ढोकामा १० वटा लाहाछाप लगाइएको छ । त्यहाँ २४ घण्टा नै नेपाली सेनाको सुरक्षा रहँदै आएको छ । विगतमा राजपरिवारले कपाल काट्नका लागि सो कक्ष प्रयोग गर्ने गरेका थिए ।

हुमाउ चराको प्वाँख (कल्की) कुहिन सक्ने भएको २०७१ साल चैत २० गते ‘ट्रिटमेन्ट’ गरिएको थियो । स्वर्गको चरा मानिने हुमाउ चरा विश्वबाट प्रायः लोप भइसकेको बताइन्छ । श्रीपेचमा सो चराको टाउकोसहित राख्ने गरिन्छ ।

श्रीपेच व्यक्तिगत सम्पत्ति भए पनि नेपालका अन्तिम राजा ज्ञानेन्द्रले सो राष्ट्रका लागि छोडिदिनुभएको थियो । उहाँले दरबार छाड्दा सम्बोधनका क्रममा “परम्परागत रुपमा शाहवंशीय राजाहरुबाट प्रयोग भइ शाहवंशको विरासतका रुपमा रहेको श्रीपेच र राजदण्ड चिरकाल पर्यन्त सुरक्षित रुपमा राख्ने गरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु” भन्नुभएको थियो ।

इतिहासकारहरूका अनुसार हालको श्रीपेचको विकसितरुप तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुरले नै बनाउन लगाउनुभएको थियो । राजा तथा युवराजका साथै राणा परिवारमा आआफ्नो श्रीपेच राख्न पाउने नियम भए पनि २०१२ सालबाट त्यो परम्परालाई हटाइयो । व्यक्तिगत भएकाले कसैले पनि श्रीपेच राज्यकोषमा बुझाएनन् ।

वि. सं.२०६५ फागुन १६ गतेबाट नारायणहिटी दरबार सङग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला गरिएको थियो । हालसम्म २९ लाख १४ हजार ७१७ जनाले सङग्रहालय अवलोकन गरिसकेका छन् । दरबार हत्याकाण्ड भएको त्रिभुवन सदनको पुनःनिर्माण गरिसकिएको छ ।

जानकारीको लागी तल फोटोमा किल्क गर्नु होला ,सुमेघ ट्राभल्स्