- ADVERTISEMENT -
https://rbb.com.np
- ADVERTISEMENT -

कांग्रेसको सुझाव संकलन सकियो, सभापतितिर पल्ला भारी

October 1, 2018
1463
Shares
- ADVERTISEMENT -

काठमाडौं १५ असोज २०७५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो विधानमा मुलुकको नयाँ संरचना अनुसार पार्टीका आठ तहको संरचना बनाउने तयारी गरेको छ । विधान संशोधनका लागि देशव्यापी रूपमा राय संकलन गरेको कांग्रेसमा यसबारेमा सहमति भएको हो । सो पार्टीले यही असोज ८ देखि १३ गते सम्म कार्यकर्ताको तल्लो तहसँग सुझाव लिएको थियो ।

नयाँ संरचनामा सबैभन्दा तल गाउँ टोल हुनेछ भने त्यसभन्दा माथि क्रमैसँग वडा, स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश, केन्द्र तहसम्मको संरचना र केन्द्रीय समितिभन्दा माथि महाधिवेशन तथा महासमिति रहनेछन् । वडाभन्दा मुनि हुने गाउँ टोल समितिमा ५०० देखि एक हजार ५०० मतदाता भएको टोलमा गाउँटोल समिति रहने मस्यौदा तयार गरिएको छ । विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने काम सम्पन्न गरेको छ ।

- ADVERTISEMENT -

Advertisement

महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वको समितिले सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, सांसद, प्रदेशसभा सदस्य र भ्रातृ संस्थाका प्रमुखको राय तथा सुझाव लिएको हो । सुझाव संकलनका क्रममा कार्यकर्ताले सभापतिलाई थप शक्तिशाली बनाउने कि नबनाउने भन्ने बारेमा विभिन्न सुझाव दिएका थिए । केहीले अधिकार अझै बढाउनुपर्ने बताएका छन् भने केहीले सामूहिक नेतृत्वमा जानुपर्ने बताएका छन् ।

धेरैजसोले सभापतिको अधिकार बढाउने पक्षमा राय दिएको जनाइएको छ ।

- ADVERTISEMENT -

Advertisement

प्रदेश १ को इलाम र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ ललितपुर र काभ्रेपलाञ्चोक, गण्डकी प्रदेशको कास्की र बागलुङ, प्रदेश ५ दाङ र रूपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा राय संकलन गरिएको थियो । सुझाव संकलनमा पार्टीको केन्द्रीय समितिको आकार बढाउनुपर्ने सुझाव पनि केही प्रतिनिधिले दिएका थिए ।

राय सुझावलाई समावेश गरेर यही असोज २५ गतेभित्र मस्यौदालाई अन्तिम रूप दिने कांग्रेस स्रोतले बताएको छ । कांग्रेसले महामन्त्री खड्काको संयोजकत्वमा गत भदौ ७ गते पार्टी विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । कांग्रेसको विधान संशोधनका लागि महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ गतेसम्म काठमाडौंमा हुनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -