काठमाडौँ, १२ असोज २०७५ । नजिकिँदै गरेको पर्व दशैंलाई लक्षित गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर ट्राफिक महाशाखाले यात्रु सहायता कक्ष स्थापना गरेको हो।
महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त पन्तले पत्रकार सम्मेलन गरी उपत्यकामा यात्रुसहायता कक्ष स्थापना गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार राजधानीको कलंकी, स्वयम्भु, नयाबसपार्क, सातदोबाटो, गौशाला, चाबाहिल, बल्खु, दक्षिणकाली, कोटेश्वर, सुन्धारा, बानेश्वर, पुरानो बसपार्क, नागढुंगा र जगातीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
कक्षमा अपराध एवं दुव्र्यवहार तथा ट्राफिक सम्बन्धी गुनासोहरु राख्न सकिने एसएसपी पन्तले जानकारी दिनुभयो । कक्षमा यातायात व्यवस्था विभागका कर्मचारी, यातायात व्यवसायी संघका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधी, ट्राफिक र नेपाल प्रहरीका कर्मचारीहरु समेत रहनेछन् ।
‘यात्रुको गुनासो सुन्न र हजीकरण गर्न सहायता कक्ष स्थापना गरिएको हो,’ एसएसपी पन्तले भन्नुभयो ।







































