काठमाडौं, असोज ६
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता भएको पार्टीलाई अगाडी बढाउन निक्कै ठुलो जोखिम रहेकाले एकजुट हुन आव्हान गर्नुभएको छ । उहाले पार्टी एकीकरणपछि ठूलो जोखिममा रहेको र राम्रो नगरे सबै एउटै डुंगामा डुब्ने खतरा रहेको बताउनुभएको हो।
तत्कालीन एमाले नेतृ साहना प्रधानको स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टी एकतापछि तत्कालीन एमाले र एकीकृत माओवादी एक भएकाले यसलाई सफलपूर्व अघि बढाउने निकै ठूलो जोखिम रहेका बताउनुभयो । एकीकरणको कार्यलाई राम्ररी अवतरण नगरे सबै जना एकै पटक डुब्ने चेतावनी दिनुभयो ।
प्रचण्डले एकीकरण सफल हुँदा संसारभर सकारात्मक सन्देश जाने कोशेढुंगा साबित हुने सम्भावना रहेको दावी गर्दै भन्नुभयो, ‘तर, हाम्रा गतिविधि तथा क्रियाकलाप आत्मकेन्द्रित बढी भएका छन् ।’ उहाले अगाडी भन्नुभयो,‘अलि धुलोमैलो लागेका फोहोरी–फोहोरी भएको छ तर, ऐतिहासिक रुपमा सफल पार्ने र महान आन्दोलनका रुपमा सफल पार्न अन्तिम समयसम्म प्रयत्न गरेर सफल पारिनेछ।’
- ADVERTISEMENT -
अध्यक्ष प्रचण्डले साहना प्रधान सबैका निम्ति ठूलो प्रेरणाको स्रोत भएका बताउनुभयो । ‘आठ नौ वर्ष योगदान गर्नु ठूलो कुरा होइन, सबैले गर्छन्,’ उहाले भन्नुभयो,‘ उहाँले पञ्चायलकाल, राणाकालीन समयमा पनि आफुलाई शतिसाल झैँ सक्रिय र चलायमान गराइरहनु ठूलो कुरा हो।’ ०६४ को निर्वाचनपछि राष्ट्रपति मै राख्दा पनि साहना उपयुक्त पात्र भएको र आफूले यसबारे कुरा पनि उठाएको प्रचण्डले दावी गर्नुभयो।
नेकपाका नेता झलनाथ खनालले राणा शासन हुँदै पञ्चायतविरोधी आन्दोलनमा नेत्री प्रधानको स्थान महत्वपूर्ण रहेको जनाउँदै प्रधानले संविधानसभाको निर्वाचन, लोकतान्त्रिक संविधान निर्माणमा समेत प्रेरणादायी भूमिका निर्वाह गर्नुभएको बताउनुभयो ।
नेकपाका नेता वामदेव गौतमले नेपालमा कम्युनिष्ट विचारलाई सङ्गठितरूपमा फैलाउन पुष्पलाल हुँदै साहना प्रधानको भूमिका ऐतिहासिक रहेको बताउनुभयो । विसं २०४६ को जनआन्न्दोलनमा नेत्री प्रधानले वाममोर्चाको अध्यक्षका हैसियतले काम गर्नुभएको थियो । प्रधानको स्मृतिमा युवा नेत्री रामकुमारी झाँक्रीको नेतृत्वमा स्मृति प्रतिष्ठान गठन भएको हो ।