- ADVERTISEMENT -

सभापति चयनका लागि मनोनयन

September 20, 2018
1372
Shares
- ADVERTISEMENT -

काठमाडौँ, असोज ४ गते । प्रतिनिधिसभाका दश विषयगत समितिको सभापति चयनका लागि बिहीबार (आज) मनोनयन हुने भएको छ । प्रतिनिधिसभा सचिवालयले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार बिहीबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता हुने प्रतिनिधिसभा सचिव गोपालनाथ योगीले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा नियमावलीको नियम १७३ (२) बमोजिम एक प्रस्तावक र समर्थकसहित उम्मेदवारी दर्ता गर्न सकिनेछ । प्रतिनिधिसभा सचिवालय सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा मनोनयन हुनेछ । उम्मेदवारको अन्तिम सूची बिहीबार बेलुका साढे ५ बजे प्रकाशित हुनेछ ।

- ADVERTISEMENT -

Advertisement

प्रतिनिधिसभा नियमावलीको नियम १७३(४) अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ । एकभन्दा बढी मनोनयन परेमा शुक्रबार बिहान ११ बजे निर्वाचन हुनेछ । निर्वाचन सबै समितिको बैठक कक्षमा हुनेछ । एकभन्दा बढी समितिमा सदस्य रहेका सांसदहरूलाई आफूले मताधिकार प्रयोग गर्ने समितिको जानकारी दिन बिहीबारसम्म समय सचिवालयले दिएको छ । यस्तो जानकारी सभामुखलाई उपलब्ध गराउनु पर्नेछ ।

प्रधानमन्त्री तथा मन्त्रीहरू विभिन्न समितिमा पदेन रहने व्यवस्था छ । तर, मतदानको अवस्था सिर्जना भएमा एउटामात्र समितिबाट मतदान गर्नुपर्नेछ ।

सभापतिका उम्मेदवार

संसदीय समितिमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को सहज बहुमत रहेको छ । निर्वाचन भएमा सबै समितिमा नेकपाले सहज जित हासिल गर्ने अवस्था छ । तर, संसदीय मान्यता अनुसार सार्वजनिक लेखा समिति प्रमुख विपक्षी दलले पाउनेछ । यस्तै, अन्य विषयगत समिति पनि दलीय सहमितमा बाँडफाँड भएका छन् ।

सत्ता साझेदार दल सङ्घीय समाजवादी फोरमले एक विषयगत समिति पाएको छ । उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिमा फोरमले विमल श्रीवास्तावलाई सभापतिको उम्मेदवार बनाउँदै छ । अन्य आठ समितिमा नेकपाका सांसदहरूको उम्मेदवारी तय भएको छ । विपक्षी दलले अहिलेसम्म लेखा समिति बाहेकका अन्य समितिमा उम्मेदवारी दिने वा नदिने निर्णय गरिसकेको छैन ।

नेकपाको आन्तरिक सहमति अनुसार अर्थ समितिमा कृष्णप्रसाद दाहाललाई सभापतिको उम्मेदवार बनाउने तयारी छ । यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिमा शशी श्रेष्ठलाई अघि सार्ने समझदारी बनेको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल, कृष्ण सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदीलाई उम्मेदवार बनाउने तयारी छ । सुवेदी पहिलो संविधानसभामा उपाध्यक्ष हुनुहुन्थ्यो । महिला तथा सामाजिक समितिमा निरुदेवी पाल, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्ती, र विकास तथा प्रविधि समितिमा कल्याणी खड्कालाई अघि सार्ने नेकपाको तयारी छ । संयुक्त सदनका सभापति चयनको प्रक्रिया भने अगाडि बढेको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -