काठमाडौं, भदौ १६ गते । प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंमा आयोजना भएको बिम्स्टेक सम्मेलनमा भाग लिन आउनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार काठमाडौँको तिलगंगामा निर्माण भएको नेपाल भारत मैत्री धर्मशालाको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
बीस वर्षअघिदेखि तीन पटकसम्म शिलन्यास भएर निर्माण हुन नसकिरहेको धर्मशाला भारतीय प्रधानमन्त्री मोदीले आफ्नो पहिलो नेपाल भ्रमणको समयमा यसलाई पूर्णता दिने घोषणा गर्नुभएको थियो । सोही घोषणाअनुरुप काठमाडौंस्थित भारतीय दूतावास र पशुपति विकासकोवीच सम्झौता भएर २०१६ सेप्टेम्वरदेखि धर्मशाला निर्माणको कार्य अगाडि बढेको थियो ।
२९८ शैयाको तीन तले धर्मशाला करिब १० हजार २३ वर्ष मिटर क्षेत्रफलमा फैलिएको छ । नेपाली कलात्मक शैलीमा निर्माण गरिएको सुविधा सम्पन्न धर्मशालामा करीब २० करोेड रुपियाँ खर्च भएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।
धर्मशाला उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले भारत सरकारको सहयोगको लागि आभार व्यक्त गर्दै हाम्रा पुर्खाले छोडेका ज्ञान र प्रविधिहरुलाई पुनर्जागरण गरिनुपर्ने धारणा ब्यक्त गर्नुभयो । उहाँले सो अवसरमा भारतका पूर्वप्रधानमन्त्री स्वर्गीय अटलविहारी बाजपेयीका कविताहरु प्रकाशन गरिने पनि प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
सो अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुई देशवीचको धार्मिक तथा आध्यात्मिक तथा समाजिक सम्बन्ध सदियौंदेखि रहँदै आएको चर्चा गदै अहिले बनेको धर्मशालाले विश्वभरबाट पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालुहरुलाई सुविधा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैवीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, श्रीलङ्का राष्ट्रपति मैत्रिपाल सिरसेना र भूटानका सरकारका प्रमुख सल्लाहाकार एवं प्रधानन्यायाधिश ल्याप्पो छिरिङ वाङचुकले शुक्रबार पशुपतिनाथको सन्ध्या आरती गर्नुभएको थियो ।