गोरखा, १४ भदौ २०७५ । नेपाली कांग्रेस गोरखाले सबै स्थानीय तह स्तरको पार्टी संयोजक चयन गरेको छ । जिल्ला समिति बैठकले नौ गाउँपालिका र दुई नगरपालिकास्तरको संयोजक तथा महिला संयोजक चयन गरेको जिल्ला सभापति हरिबहादुर घलेले जानकारी दिनुभयो ।
सदरमुकाम रहेको गोरखा नगरपालिकाका पार्टी संयोजकको जिम्मेवारी यसअघिकै नगरसभापति चन्दनबाबु खत्रीलाई दिएको छ भने महिला संयोजकमा महिला संघकी अध्यक्ष बिनाकुमारी श्रेष्ठलाई चयन गरेको सभापति घलेले जानकारी दिनुभएको हो । श्रेष्ठ नगरपालिकाकी उपमेयर समेत हुन् ।
त्यस्तै, पालुङ्टार नगरपालिकाको संयोजकमा यसअघिकै नगरसभापति दीपकबाबु कँडेल चयन भएका छन् भने महिला संयोजकमा चेतकुमारी श्रेष्ठ चयन भएकी छन् । कँडेल पालुङ्टार नगरपालिकाका मेयर समेत हुन् ।
सिरानचोक गाउँपालिकाका कांग्रेस पार्टी संयोजकमा कृष्णप्रसाद पोखरेल (छोप्राक) चयन भएका छन् भने महिला संयोजकमा रीता देवकोटा चयन भएकी छन् । त्यस्तै, अजीरकोट गाउँपालिकाका संयोजकमा ओमबहादुर गुरुङ चयन भएका छन् भने महिला संयोजकमा चन्द्रमाया गुरुङ चयन भएकी छन् ।
त्यस्तै, बारपाक सुलीकोट गाउँपालिकाका संयोजकमा जीतबहादुर घले चयन भएका छन् भने महिला संयोजकमा अम्बिका थापा चयन भएकी जिल्ला सभापति घलेले जानकारी दिनुभयो ।
त्यसैगरी धार्चे गाउँपालिकाका कांग्रेस पार्टी संयोजकमा माला गुरुङ चयन भएका छन् भने महिला संयोजकमा फूलमाया गुरुङ चयन भएका छन् । चुमनुब्री गाउँपालिकाका संयोजकमा सूर्य गुरुङ चयन भएका छन् भने सो गाउँपालिकामा महिला संयोजक चयन नगरिएको घलेले जानकारी दिनुभयो ।
त्यस्तै आरुघाट गाउँपालिकाका संयोजकमा गगन अधिकारी चयन भएका छन् भने महिला संयोजकमा कल्पना नेपाली चयन भएकी छन् । भीमसेनथापा गाउँपालिकाका संयोजकमा भरत भट्ट चयन भएका छन् भने महिला संयोजकमा बिनु वाग्ले चयन भएकी छन् ।
त्यस्तै शहिदलखन गाउँपालिकाका संयोजकमा खुनप्रसाद रेग्मी चयन भएका छन् भने महिला संयोजकमा सर्मिला श्रेष्ठ चयन भएकी छन् । गण्डकी गाउँपालिकाका संयोजकमा भीमप्रसाद अर्याल चयन भएका छन् भने महिला संयोजकमा ललिता अधिकारी चयन भएकी सभापति घलेले जानकारी दिनुभयो ।
बारपाक सुलीकोट र सहिदलखन गाउँपालिकाबाहेक सबै गाउँपालिकाका महिला संयोजक उपप्रमुखमा निर्वाचित जनप्रतिनिधि समेत हुन् । ती दुई गाउँपालिकामा नेकपाबाट विजयी उपप्रमुख भएकाले पार्टी संयोजकमा नयाँ संयोजक चयन गरिएको कांग्रेसले जनाएको छ ।अर्को महाधिवेशनसम्म नवनिर्वाचित संयोजकको कार्यअवधि रहने व्यवस्था छ ।