काठमाडौं – बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषी प्रहरी उपरीक्षक (एसपी) र भीमदत्त नगरपालिकाका मेयरका भतिजा भएको आशंका गरिएको छ। विभिन्न अनुसन्धान र तथ्यले दुबै जना दोषी भएको देखाएको प्रहरीले स्रोतले बतायो। आफ्ना छोरा जोगाउन नै तत्कालिन कञ्चनपुर प्रमुख एसपी डिल्लीराज विष्टले राम्ररी अनुसन्धान नगरेको र मानसिक सन्तुलन ठिक नभएका दिलिप विष्टलाई अभियुक्त देखाएको बुझिएको छ।
निर्मलाको साथीको घरमा अनुसन्धान नगर्नुको रहस्य
निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन् । तर, त्यो घरदेखि नै यो घटना एकदमै रहस्यमय छ । त्यो घर दुईतल्ले छ, त्यहाँ बम दिदीबहिनीमात्रै बस्थे । उनीहरुका बुबाआमा दार्चुला भन्ने ठाउँमा बस्ने गरेका थिए । घरमा उनका छोरीहरु रोशनी आँचल र बबिता मात्रै बस्थे । निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन् । उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन।
स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायाः आवत जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने जाने गर्थे । निर्मला गएको दिन पनि उनीहरु त्यो घरमा रहेको स्थानीय बताउँछन्।
- ADVERTISEMENT -
स्थानीयबासीले निर्मलाको बलात्कार र हत्या प्रशरणपश्चात एसपीका छोरा र मेयरका भतिजालाई पनि प्रहरीले छानविनको दायरामा ल्याओस् र उनीहरु दोषी भए नभएको जनसमक्ष स्पष्ट पारोस् भनी माग राखेका छन्। निर्मला गएकी घरमा बस्ने आँचल र बबिता बममाथि पनि अनुसन्धान गरियोस् । तर, प्रहरीले २४÷२५ दिनसम्म उनीहरुमाथि कुनै अनुसन्धान नगरी फ्याट्ट मानसिक रोगीलाई बलात्कारीको पगरी भिराएपछि स्थानीयवासी सडकमा उत्रिएको स्रोत बताउँछ ।
त्यो रहस्यमय घरबाट निर्मला हराएपछि पाइएका केही तथ्यहरु झै रहस्यमय छन् । जस्तो( घटनास्थलमा निर्मलाका किताब कापी भेटिएका थिए । तर, किताब पानीले भिजेका थिएनन् । जबकि त्यहाँ रातभरि पानी परेको थियो ।
निर्मलालाई अम्बा दिएर पठाएको भनिए पनि त्यहाँ अम्बाको बोट काटिएको छ । घरभित्र पनि भर्खरै रंग पेन्टिङ गरिएको स्थानीयले जानकारी दिएका छन् ।
निर्मला उक्त घरमा होमवर्क गर्न राति गएकी पनि हैनन, बिहान ११ बजेतिर गएकी हुन् । बम दिदीबहिनीहरु निर्मला त्यहाँबाट २ बजे साइकल लिएर निस्किएको बताउँछन् । हामीले उनलाई अम्बा दिएर पठाएका हौं भन्छन् ।
कारवाही नगरे गृहमन्त्रीकै पद जान्छ
प्रहरीले जसलाई पागल र हत्यारा भनेर देखायो, त्यो अपराधी हैन भन्ने स्थानीयको दाबी छ । बरु घटनास्थलको वस्तुस्थिति हेर्दाखेरि स्थानीय भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरामाथि पनि छानविन हुनुपर्छ भनेर स्थानीयले माग गरिराखेको पाइयो ।
एसपी विष्टसँग नजिकको सम्बन्ध रहेको भनिएको बमको परिवार सामान्यतः हुनेखाने नै मानिन्छन् । उनीहरु दुईतले घर र व्यवसाय भएका व्यक्तिहरु हुन् । उनीहरुले आफ्नो घरसमेत भाडामा नलगाई राखेका थिए । तर, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवार भने गरीब परिवार हो । यसरी एसपीसँग राम्रो सम्बन्ध रहेको परिवारको संरक्षणमा लागेर प्रहरी प्रशासनले एकजना गरीबकी छोरीलाई न्याय निसाफ दिलाउन अटेर गर्नु नै कञ्चनपुर घटनाको अन्तर्य रहेको देखिएको छ।
बलात्कार र हत्याका घटनामा कसको संलग्नता छ, अहिले नै किटेर कसैमाथि आरोप लगाइहाल्न मिल्दैन, तर वस्तुस्थितिले जोजोमाथि अनुसन्धानको माग गर्छ, तिनीहरुमाथि रौंचिरा अनुसन्धान नगर्दासम्म अपराधी पत्ता लाग्न मुस्किल छ । अपराधी भीआइपी होस् या अरु नै कोही होस्, वास्तविक दोषीलाई पत्तो लगाउनैपर्छ र निर्मलालाई न्याय दिलाउनैपर्छ ।
तर, नेकपाका नेताहरुले आफ्नो पार्टीको मेयर वा प्रहरी अधिकारी वा अरु केही आधारमा घटनालाई ढाकछोप गर्नतिर लागे भने स्वाभिमानी कञ्चनपुरबासीहरुले एसपी र सिडियोकोमात्रै होइन, दुईतिहाईवाला सरकारका गृहमन्त्रीकै राजनीनामा पनि नगराउलान् भन्न सकिँदैन, घटनाको गम्भीरता हेर्दा । त्यसैले यो घटनामा सरकार बेलैमा सम्वेदनशील होस्, शंकाको घेरामा रहेका व्यक्तिहरुमाथि तत्कालै छानविन थालियोस् भन्ने माग छ स्थानीयकाे ।