काठमाडौँ, ८ भदौ २०७५ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक एजेन्डा तय नभएको कारण देखाउदै स्थगित भएको छ । आज बस्ने भनिएको बैठक अन्तिम समयमा आएर क्रियाशील सदस्यता र विभाग गठन लगायतका विषयमा शीर्ष नेताहरुबीच सहमति जुट्न नसकेपछि भोलिलाई सारिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
बैठकका एजेण्डा तय गर्न शुक्रबार बसेको शीर्ष नेताहरुको बैठक ढिलासम्म चलेको थियो । तर, एजेण्डाबारे शीर्षस्थ नेताहरु टुंगोमा पुग्न नसकेको स्रोतले बतायो ।
बिहीबार सभापति शेरबहादुर देउवाले गठन गरेको ११ सदस्यीय विधान मस्यौदा समितिमा अर्का नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि राख्दै बैठक नै बहिस्कार गर्ने चेतावनी दिएपछि आजको बैठक स्थगित भएको हो ।
आज चार घण्टासम्म सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलपक्षबीच आन्तरिक छलफल भएको थियो ।
छलफलका क्रममा गत असारमा भएको जिल्ला सभापतिहरुको भेलाको निर्णयअनुसार विधान मस्यौदा समितिमा जिल्ला सभापतिहरुको पनि प्रतिनिधित्व हुनुपर्नेमा समितिमा केन्द्रीय सदस्यमात्रै राखेको भन्दै पौडेलपक्षले आपत्ति जनाएको थियो ।
बैठक भोलि शनिबार ११ बजे बस्ने गरी स्थगित भएको छ ।