- ADVERTISEMENT -

स्वदेश फर्किएपछि मिलाउने सभापति देउवाको आश्वासन : कांग्रेस फर्किएका गच्छदार कांग्रेस छाड्ने चेतावनी

August 10, 2018
1754
Shares
- ADVERTISEMENT -

काठमाडौँ, २५ साउन, २०७५ । २०७४ साल असोज २९ गते तत्कालिन नेपाल लोकतान्त्रिक फाेरम पार्टी इतिहासमा सीमित बन्यो । सो पार्टी तत्कालिन समयमा संसदको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसमा ‘मर्ज’ भयो । निर्वाचनलाई लक्षित गरी वामपन्थी शक्तिहरु एक हुन थालेपछि कांग्रेसले पनि लोकतान्त्रिक शक्तिलाई आफूतिर तान्ने प्रयास थालेकाे थियाे ।

०७४ असोज १७ गते तत्कालिन एमाले र माओवादी केन्द्रले वाम गठबन्धन निर्माण गरे । त्यसपछि कांग्रेसलाई चुनावकै लागि भए पनि अलि बलियो देखिनुपर्ने दबाब बढ्यो । उसले लोकतान्त्रिक भनिएका शक्तिहरुलाई पार्टी एकता वा चुनावी गठबन्धनका लागि आह्वान गर्यो । यद्यपि, उसको आह्वानलाई खासगरी संघीय समाजवादी फारेम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले शर्तका रुपमा प्रयोग गर्न खोजे ।

- ADVERTISEMENT -

Advertisement

निर्वाचन क्षेत्रको सिट बाँडफाँडमा मधेस केन्द्रित दलले बढी हिस्सा खोजेपछि पार्टी एकता त टाढाकै कुरा भयो, कांग्रेसले प्रभावकारी ढंगबाट चुनावी गठबन्धन बनाउन पनि सकेन । तर, त्यही मेसोमा कांग्रेसी राजनीतिबाट नेता बनेका विजय गच्छदारले घर फर्केको घोषणा गर्दै आफ्नो पार्टी लोकतान्त्रिक फोरमलाई कांग्रेसमा मिलाउने उद्घोष गरे ।

त्यसपछि २९ असोज २०७४ मा उत्साहका साथ लोकतान्त्रिक फोरमका नेताहरु पार्टीसहित कांग्रेसमा प्रवेश गरे । त्यसबेला प्रत्यक्षतर्फ ६ र समानुपातिकतर्फ ४ सांसद, १५ केन्द्रीय सदस्य र भ्रातृ तथा शुभेच्छुक संस्थामा सम्मानजनक समायोजन गर्ने गरी कांग्रेस प्रवेश गरेका विजय गच्छदारले उपसभापतिमा दाबी गर्दै आएका थिए । तर, १० महिना पूरा हुँदासम्म कांग्रेसमा उनी आमन्त्रित केन्द्रीय सदस्यमा सीमित छन् । संसदीय दलको उपनेता बनेका उनी अहिले पनि कांग्रेसको आन्तरिक छलफलमा ‘विगतको सम्झौता अनुसार जिम्मेवारी दिने कि म अर्कै दल खोलौं’ भन्दै प्रश्न गरिरहेका छन् ।

८७ जनाको केन्द्रीय समिति लिएर कांग्रेसमा मिसिएको तत्कालिन फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारबाहेक अन्य नेता अहिलेसम्म कांग्रेस केन्द्रीय सदस्यसमेत बनेका छैनन् । उनीहरु सबै कांग्रेसको साधारण सदस्यको हैसियतमा छन् । तर, कसैले पनि सदस्यता भने पाएका छैनन् । फोरमबाट आएका नेताहरुको व्यवस्थापन गर्ने कुरामा सभापति शेरबहादुर देउवा पनि त्यति गम्भीर नदेखिएका पार्टी मिसाएका नेताहरु बताउँछन् ।

गत मंगलबार कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक बसेको थियो । सभापति देउवा बुधबार उपचारका लागि सिंगापुर जानुपर्ने र समसामयिक विषयमा कांग्रेसको धारणा सार्वजनिक गर्नुपर्ने भएकाले सभापति देउवाले आकस्मिक केन्द्रीय समिति बैठक डाकेका थिए । बैठकले ‘प्रधानमन्त्रीको दोहोरो भूमिकाले न्यायलय अप्ठेरोमा परेको ठहर गर्दै संवैधानिक सर्वोच्चता र स्वतन्त्र न्यायलयका पक्षमा उभिने’ निर्णय गरेका थियो । औपचारिक निर्णय गरेको उक्त बैठकमा छलफल भने फरक ढंगले भएको थियो ।

फोरमबाट आएका नेता विजय गच्छदारले गत वर्ष असोजमा एकता गरेपछि पनि आफ्नो ‘पार्टीमा हैसियत के रहने, आफ्नो पार्टीबाट आएका नेतामध्ये १५जना केन्द्रीय सदस्य अहिले हुने वा अर्को महाधिवेशनसम्म कुर्नुपर्ने, विद्यार्थी संघबाट आएका आफ्ना पक्षका विद्यार्थी, मजदुर, तरुणसहितका भ्रातृ संगठनको समायोजन कहिले हुने वा चुनावपछि हाम्रो औचित्य सकिएको ठानेर बिदा गरिदिने ?’ भनेर प्रश्न गरेका थिए । उनले आफूले धेरै अप्ठेरो सहेर पार्टी नेताहरुलाई व्यवस्थापन गरिरहेको भन्दै अब पनि व्यवस्थापन नभए आफू पुरानै अस्थामा फर्किने चेतावनीसमेत दिएका थिए ।

गच्छदारपछि बोलेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिका कारण पार्टी थप अप्ठेरोमा पर्न लागेको भन्दै महासमिति बैठक डाक्न ढिला गर्न नहुने बताएका थिए । सभापतिले पार्टीका ४२ विभाग नबनाउँदा धेरै कार्यकर्ताले काम नपाएको भन्दै अर्को अधिवेशन आउन लाग्दा समेत संगठन चलायमान बनाउन नसकेको पौडेलको भनाइ थियो । त्यस्तै उनले सभापतिले महासमिति बैठक नबोलाउँदा गच्छदारसहितको समायोजनका लागि समेत समस्या परेको बताए ।

त्यसपछि सभापति देउवाले आफू फर्कनासाथ पार्टीका विभागहरु मिलाउने र विधान संशोधनको माध्यमबाट गच्छदारका नेता तथा कार्यकर्ताको व्यवस्थापन पनि गर्ने बताएका थिए । उनले त्यससँगै महासमिति बैठक पनि बोलाएर सबै समस्या समाधान गर्ने आश्वासन दिएका छन् ।

के भन्छन् गच्छदारसँग आएका नेता ?
गच्छदारसँगै कांग्रेस प्रवेश गरेका जितेन्द्र देव कांग्रेसको विधानका कारण समस्या आएको भन्दै अब केन्द्रीय समितिले विधान संसोधन गरेर समायोजन गर्ने र महासमितिबाट त्यसको अनुमोदन गर्ने तयारी रहेको बताउँछन् ।

‘हाम्रो समूहमा आएका नेताहरुको व्यवस्थापनमा नेपाली कांग्रेसको विधानका कारण जटिलता आएको हो,’ नेता देवले भने, ‘कांग्रेसको विधानमा केन्द्रीय समिति ८५ सदस्यीय हुने व्यवस्था छ, त्यो पूरा भइसक्दा फोरमबाट आएका हाम्रो व्यवस्थापनका लागि विधान संशोधन गर्नुपर्ने अवस्था छ ।’ उनले देउवा स्वदेश फर्किएलगत्तै काम अघि बढाउने आश्वासन दिएकाले अब समय नलाग्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -