काठमाडौंको काँडाघारीबाट आइतबार साँझ ११ वर्षीय बालक निशान खड्काको अपहरण भयो । विद्यालयबाट घर फर्किरहेका बालक खड्का घर पुग्न नपाई अपहरणकारीको फन्दामा परे ।
हाइल्याण्ड स्कुलका विद्यार्थी खड्का अपहरणमा परेको जानकारी पाएपछि प्रहरी खोजी कार्यमा लाग्यो । निशानका बाबु वैदेशिक रोजगारीको शिलशीलामा छन् भने आमा चमेली चिया पसल सञ्चालन गर्छिन् । उनीहरुसँग अपहरणकारीले ४० लाख रुपैयाँ फिरौती मागेका थिए ।
अपहरणमा परेका बालकको खोजीकार्य प्रहरीले तीव्र पार्याे । खोज्दै जाँदा बालक खड्काको शव ठिमीमा भेटियो । सुर्यविनायक नगरपालिका–८ भक्तपुरको जंगलमा अपहरणकारीलाई प्रहरीले फेला पार्याे । प्रहरी देखेपछि उनीहरुले आक्रमण गरेपछि प्रहरीसँग मुठभेड भयो । त्यसपछि अपरहणकारी गोपाल तामाङ र अजय तामाङको मृत्यु भएको महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए ।
घटना श्रृंखला
आईतबार अपरान्ह साढे ४ बजे काँडाघारीबाट बालक हराए ।
११ वर्षीय निशान खड्का अपहरणको आशंकापछि प्रहरीलाई खबर भयो ।
साझ अपहरणकारीले वालकका परिवारसँग ४० लाख फिरौती मागे ।
अपहरणकारीले फोन गरेको मोबार्ईल नम्वरको ट्रयापिङमा प्रहरी लाग्यो ।
सोमबार विहानैबाट उपत्यकाभरी खोजतलास सुरु भयो ।
अपहरित बालक सूर्यविनायक नगरपालिकास्थित ठिमीको एक घरमा मृत अवस्थामा भेटिए ।
तर अपहरणकारी फेला परेनन्, प्रहरीले अपहरणकारीको खोजी कार्यलाई थप तीब्र बनायो ।
सूर्यविनायक–८ भक्तपुरको जंगलमा अपहरणकारी फेला परे ।
प्रहरी देखेर आक्रमण अपहरणकारीले प्रहरीमाथि गोली चलाए ।
प्रहरीको जवाफी कारवाहीमा दुई जना अपहरणकारी मारिए ।
प्रहरीको इन्काउन्टरमा परि अपहरणकारी गोपाल तामाङ र अजय तामाङको मृत्यु भयो ।
प्रहरीले अपहरणकारीको साथबाट केही एक थान पेस्तोल, दुई राउण्ड गोली बरामद गर्याे ।
साथै फिरौती माग्न प्रयोग भएको मोबाइलसमेत प्रहरीले बरामद गर्याे ।