- ADVERTISEMENT -

कांग्रेसलाई लाग्यो महाधिवेशन : देउवादेखि गगन थापासम्मले थाले सभापतिको तयारी

July 28, 2018
1747
Shares
- ADVERTISEMENT -

१२ साउन, २०७५

सभापति शेरबहादुर देउवाको ४ वर्षे कार्यकाल अझै १८ महिना बाँकी छ तर नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भइसकेको छ । सामान्यतया कार्यकालको ३ वर्ष पुगेपछि महाधिवेशनको सरगर्मी सुरु हुन्थ्यो तर यसपटक ६ महिनाअघि नै कांग्रेसभित्र महाधिवेशनको सरगर्मी सुरु भएको हो ।

- ADVERTISEMENT -

Advertisement

कोइराला परिवारका निकट मानिने केन्द्रीय सदस्य गुरुराज घिमिरेले शुक्रबार नवलपरासीको एक सार्वजनिक कार्यक्रममा बोल्दै विधानद्वारा निर्धारित मितिमै महाधिवेशन गराउन सभापति देउवालाई दबाव दिने बताए । उनले अबको सभापति महामन्त्री डा. शशांक कोइराला भएको उद्घोषसमेत गरे । वर्तमान सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको सान्दर्भिकता सकिएको भन्दै केन्द्रीय सदस्य घिमिरेले महामन्त्री डा. कोइरालाको नाम सार्वजनिक गर्दै महाधिवेशनको बहस अघि बढाएका हुन ।

१४ औं महाधिवेशनका लागि संस्थापन पक्षबाट सभापति देउवाले तयारी गरिरहेका छन् भने उपसभापति विमलेन्द्र निधिले पनि भित्रभित्रै तयारी गरिरहेका छन । युरोप भ्रमणमा रहेका निधिले अवको सभापति मै हो भन्दै आफ्नो उम्मेदवारीसमेत घोषणा गरेको समाचार बाहिर आएको छ । स्रोतका अनुसार सर्वसम्मत रूपमा उम्मेद्वार तय गर्न संस्थापन पक्षलाई जति सजिलो छ, कोइराला पक्षलाई त्यति सजिलो छैन । वरिष्ठ नेता पौडेल फेरि घ्याप हाल्ने मनस्थितिमा छन् भने कोइराला परिवारले पौडेललाई सजिलै छाड्ने सम्भावना छैन । महामन्त्री डा. कोइरालाले खुलेआम तयारी गरिसकेका छन् ।

महामन्त्री कोइरालालाई स्वीकार गर्न प्रकाशमान सिंह तयार छैनन् । पौडेल उम्मेद्वार नभए सिंह अघि सर्ने सम्भावना छ । पूर्वउपसभापति सिंहले महामन्त्री कोइरालालाई सभापति स्वीकार नगर्ने सम्भावना रहनुमा तीनवटा कारण छन् । पहिलो कारण हो, ‘महामन्त्री कोइरालाभन्दा पूर्वमहामन्त्री सिंह सनियिर हुन् ।’ दोस्रो कारण हो, ‘संसदीय दलको नेता पदका लागि भएको गत निर्वाचनमा महामन्त्री कोइरालाको हार्दिक साथ सहयोग नपाएको अनुभव सिंहले गरेका छन् ।’ तेस्रो कारण हो, ‘पदाधिकारी मनोनयन अनुमोदन प्रकरणमा देउवा अल्पमतमा पर्ने सम्भावना थियो, तर महामन्त्री कोइरालाकै साथ सहयोगका कारण देउवाले उक्त संकटबाट पार पाए ।’

महामन्त्री कोइरालाको पछिल्लो गतिविधिबाट वरिष्ठ नेता पौडेल सन्तुष्ट छैनन् । आफू उम्मेद्वार नबन्ने अवस्थामा पौडेलले महामन्त्री कोइरालाको सट्टा पूर्वउपसभापति सिंहलाई साथ दिने सम्भावना रहेको कांग्रेसका विश्लेषकहरू बताउँछन् । १३औं महाधिवेशनमा जस्तै १४औं महाधिवेशनमा पनि आफ्ना विपक्षीहरूलाई दुई गुटमा विभाजन गरी बाजी मार्ने रणनीतिमा सभापति देउवा छन् ।

१३औं महाधिवेशनमा देउवाले पौडेलका विरुद्ध कृष्णप्रसाद सिटौलालाई बागी उठाएका थिए । पौडेल पक्षका अर्जुननरसिंह केसीलाई आफ्नो प्यानलबाट महामन्त्री पदमा उम्मेद्वार बनाएका थिए । साथै पौडेल प्यानलका महामन्त्री उम्मेद्वार डा. शशांक कोइरालासँग अति गोप्य तालमेलको रणनीति अवलम्बन गरेका थिए ।

अब पनि यस्तै रणनीति अवलम्बन गर्न सकिने अवस्था रह्यो भने निर्धारित मितिमै १४औं महाधिवेशन गराउने तर यो रणनीति अवलम्बन गर्न नसकिने अवस्थामा विधानको एउटा छिद्र प्रयोग गरी महाधिवेशनको मिति एकवर्ष पर धकेल्ने अभियानमा सभापति देउवा छन् । तर, देउवाले गत महाधिवेशनमा अवलम्बन गरेको रणनीति एक्स्पोज भएको छ ।

देउवाको त्यतिवेलाको राणनीतिप्रति बेखवर रहनु आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो कमजोरी भएको बताउँदै केसीले एक अन्तर्वार्तामा भनेका थिए, ‘पौडेल पक्षबाट तानेर मलाई देउवाजीले आफ्नो प्यानलको महामन्त्रीमा उम्मेद्वार बनाए, तर भोट भने गोप्य साँठगाँठ गरी मेरा प्रतिस्पर्धी डा.शशांक कोइरालालाई दिएछन् ।’

१३औं महाधिवेशनमा पौडेलविरुद्ध बागी उठाउने क्रममा देउवाद्धारा दिइएको आश्वासन पूरा नभएको खुलासा कृष्णप्रसाद सिटौलाले पनि गरेका छन् । महामन्त्रीका उम्मेद्वार केसीले जस्तो सबै कुरा एस्पोज सभापतिका उम्मेद्वार सिटौलाले गरेका छैनन् । उनले यति मात्रै भनेका छन्, ‘देउवाजीबाट मलाई ज्यादै ठूलो धोका भयो ।’ तर, के केमा धोका भयो ? भन्ने सिटौलाले खुलाएका छैनन् ।

देउवाले २० जना केन्द्रीय सदस्य मनोनयन गर्दा ३ सय मत पाएका सिटौला पक्षबाट सात जना समेटेका छन् भने १५ सय मत पाएका पौडेलको पक्षबाट एक जना दिलबहादुर घर्तीलाई मात्रै समेटेका छन् । देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘यति गर्दा पनि सिटौलाको चित्त बुझ्दैन भने उनलाई खुशी पार्ने अरू उपाय के नै छ र ?’

समाचार स्रोतका अनुसार सभापति देउवाले आफ्नो पक्षभित्रै पनि सुरक्षित महसुस गरेका छैनन् । उपसभापति निधि नै सभापति पदको उम्मेद्वार बन्न अग्रसर हुने हुन् कि ? भन्ने तनावमा देउवा छन् । जसका कारण निधिका समर्थकहरू देउवा किचेन क्याबिनेटको कोपभोजनमा पर्न थालिसकेका छन् ।

जित्ने सुनिश्चित भएको अवस्थामा मात्रै देउवा अघि सर्ने अन्यथा उपसभापति निधिलाई अघि सार्ने आँकलन एक वर्ष अघिसम्म कांग्रेसका विश्लेषकहरूले गरेका थिए । तर आइजिपी प्रकरण, राजदूत नियुक्ति प्रकरण, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रकरणपछि भने यो आँकलन परिवर्तन भएको आजको सौर्य दैनिकमा समाचार छ ।

हार्ने अवस्थामा समेत देउवा सभापति पदमा उम्मेद्वार बन्ने नयाँ आँकलन गरिएको छ । पत्नी आरजु राणाका लागि पार्टीभित्रको गुट सुरक्षित गर्न पनि उम्मेद्वार बन्नैपर्ने वाध्यता देउवालाई रहेको कांग्रेस विश्लेषकहरू बताउँछन् । देउवा आफैं अघि सरेको अवस्थामा निधिका लागि अर्को विकल्प छैन । उनको आफ्नै गुट छैन । अरू गुटले सभापति स्वीकार गर्ने अवस्था छैन । गगन थापाको राजनीतिक उदय पनि निधिका लागि थप चुनौती बनेको छ । तेस्रो धारका रूपमा थापा सभापतिको बलियो उम्मेद्वार हुनसक्ने सम्भावना पनि कांग्रेसका विश्लेषकहरूले औंल्याएका छन् ।

पौडेल, निधि या प्रकाशमानमध्ये कुनै वजनदार नेताको साथ सहयोग पाए भने गगन थापाले नै देउवालाई पल्टाइ दिने आँकलन पनि धेरैको छ । त्यो सम्भावना पनि पछिल्लो चरणमा विकास हुँदै गएको छ । गगनबाट पल्टनु भनेको देउवाको सम्पूर्ण प्रतिष्ठा समाप्त हुनु हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -