पोखरा : ४ नम्बर प्रदेशको पहिलो प्रदेश सभा बैठक २२ माघमा आह्वान भएको छ। प्रदेश प्रमुख बाबुराम कुँवरले उक्त बैठक आह्वान गरेका हुन्। कुँवरका तर्फबाट उनको कार्यालयका सहसचिव देवीप्रसाद ज्ञवालीले सार्वजनिक सूचनामार्फत प्रदेश सभा बैठक २२ गते बिहान ११ बजेलाई डाकिएको जानकारी गराएका छन्।
पोखरा नगर विकास प्रशिक्षण केन्द्रमा उक्त दिन प्रदेश सभाको पहिलो बैठक बस्ने भएको छ। ज्ञवालीका अनुसार सबै ६० सांसदलाई पनि बैठक आह्वानको सूचना दिइएको छ। ‘सबै जिल्लाका सीडीओहरुलाई सांसदहरुमा सूचना पुर्यादिन भनेका छौं’, उनले भने, ‘एसएमएस गरिसकेका छौं, फोन पनि गर्छाैं।’
प्रदेश मन्त्रिपरिषद नबनेको हुँदा उक्त दिन प्रदेश प्रमुखले सभालाई सम्बोधन भने गर्ने छैनन्। प्रदेश सरकारले नै तयार गरेको सम्बोधन प्रमुखले गर्ने हुँदा मन्त्रिपरिषद अभाव खट्किएको छ। प्रदेश सभा सचिवालयका लागि सरकारले ७ कर्मचारी खटाइसकेको भए पनि उनीहरु पोखरा आइसकेका छैनन्। उनीहरु आइसकेपछि २२ गतेको प्रदेश सभा बैठकको कार्यक्रम तय हुनेछ।
संविधानले प्रदेश सभा निर्वाचन परिणाम आएको २० दिनभित्र पहिलो बैठक बस्नुपर्ने व्यवस्था गरेको छ। यो प्रदेशको परिणाम माघ ३ गते आएको हुँदा २३ गते उक्त म्याद सकिन्छ। २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पनि सांसदहरु पोखरा आइसक्ने हुँदा २२ गते बैठक उपयुक्त हुने ठानिएको हो।अन्नपूर्ण बाट