प्रधानमन्त्री शेरबहादुर देउवाले तराई-मधेसलगायत मुलुकका विभिन्न भागमा मनाइने छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायुको कामनासहित शुभकामना दिएका छन्।
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले यस पर्वले नेपाली समाजमा सांस्कृतिक एकताको भावना वृद्धि गर्नसमेत मद्दत पुगेको उल्लेख गरेका छन्। छठ पर्व अत्यन्त श्रद्धा, भक्ति र पवित्रता साथ सूर्य र छठी माइको पूजा अर्चना गरी मनाइने पर्व हो । नदी, तलाउ वा पवित्र जलकुण्डमा अस्ताउँदो सूर्यलाई अर्घ दिई प्रारम्भ हुने यो पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिइ सम्पन्न गरिन्छ ।
प्रधानमन्त्री देउवाले छठ नेपाली समाजमा शान्ति, सद्भाव र पवित्रता प्रवर्द्धन गर्ने धार्मिक एवं सांस्कृतिक पर्वको रूपमा प्रसिद्ध रहेको उल्लेख गरे। विगतमा विशेषगरी तराई-मधेसमा मनाइने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा सांस्कृतिक पर्वको रूपमा नेपालभर विस्तार भएको उल्लेख गर्दै उनले हाम्रा सांस्कृतिक पर्व र संस्कार समाजका अमूल्य गहना भएको उल्लेख गरेका छन्।








































