नेपाली कांग्रेस संसदीय बाेर्डको बैठक बसिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ।
बैठकमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सच्याउने र प्रत्यक्षतर्फ टिकट वितरणसम्बन्धी छलफल भइरहेको एक नेताले जानकारी दिए । निर्वाचन कार्यतालिकाअनुसार असोज २३ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उमेदवारी मनोनय दर्ता गराउनुपर्ने छ ।
कांग्रेसले पाँचदलीय गठबन्धन गरेसँगै ८० देखि बढीमा ८५ सिट पाउने नेताहरूको बुझाइ छ । तर, ३३० मध्ये प्रदेशतर्फ कति सिट पाउँछ एकिन छैन । बैठकमा कहाँ कुन नेतालाई टिकट दिने भन्ने विषयमा छलफल भइरहेको छ।
यता, पार्टीभित्र शेखर समूहले सम्मानजनक सिट नपाए विद्रोहको चेतावनी दिइरहेको छ । सोही अनुरुप समूहले बुधबार पार्टी मुख्यालयमा धर्ना दिएको थियो । सिट बाँडफाँटमा एकलौटी भए विद्रोहको चेतावनी समूहले दिँदै आएको छ । इतर समूहका दोस्रो तहका नेताहरू धर्नामा सहभागी थिए ।
सो समूहका नेता शेखर कोइरालाले युवा नेताहरूलाई आफूहरूले पाार्टीभित्र दबाब दिएको र बाहिरबाट दबाब जारी राख्न भनेका थिए । पार्टी सभापति देउवा गठबन्धनका दललाई मनाउने र पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेट्नुपर्ने दोहोरो दबाबमा छन् ।








































