आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृह जिल्ला मकवानपुरमा चहल-पहल बढाएका छन् । निर्वाचनकाे मिति नजिकिँदै जाँदा दैनिकजसो पार्टीको चुनावी प्रचार–प्रसारमा व्यस्त रहेका उनी बिहीवार एमाले मकवानपुरको पार्टी कार्यालयमा देखा परे ।
एमाले र राप्रपा नेपालको साझा उम्मेदवारको रुपमा थापा मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभातर्फ चुनावी प्रतिस्पर्धामा भिड्ने तयारी रहेको चर्चा चलिरहेको छ । यही चर्चाबीच उनको पार्टी कार्यालयमा भएको उपस्थितिले उक्त चर्चालाई केही हदसम्म बल मिलेको छ ।
बिहीवार हेटौंडा–५ पुष्पलाल–पार्कस्थित एमाले पार्टी कार्यालयमा भएको विजया दशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष थापा सहभागी भएका हुन् । थापाले मकवानपुर क्षेत्र नम्बरबाट प्रतिनिधि सभामा भिड्ने तयारी गरिरहेका छन् ।
उक्त क्षेत्रमा बहुदल स्थापनापछि २०४८ सालमा भएको प्रतिनिधि सभाको पहिलो निर्वाचनमा एमाले विजयी भएको थियो । २०५१ सालमा राप्रपा, २०६४ सालको पहिलो संविधान सभामा माओवादी, २०७० सालको दोस्रो संविधान सभामा नेपाली कांग्रेस विजयी भएको थियो । २०७४ सालमा पुनः एमालेले ‘कम ब्याक’ गरेको थियो । एमाले २०४८, २०५६ तथा २०७४ सालमा विजयी भएको थियो ।
एमालेबाट तीनैपटक कृष्णप्रसाद दाहाल विजयी भएका थिए । २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाको गठबन्धन हुँदासमेत प्रतिनिधिसभा निर्वाचनमा राप्रपा अध्यक्ष थापा पराजित भएका थिए ।
गत स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनबाट पछि परेको एमालेको आफ्नै पार्टीभित्र आकांक्षीहरू रहेका छन् । उक्त क्षेत्रबाट एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानालगायत अन्य नेताहरूले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरिरहेका छन् ।
थापा भने दुई वटा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नं. २ मा बागमती प्रदेश कमिटी उपसचिव महेश बर्तौलालाई छाडेर क्षेत्र नम्बर १ को प्रतिनिधि सभा निर्वाचनमा लड्ने तयारीमा छन् । केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको ग्रिन सिग्नल पाएका थापाले जिल्लामा पनि एमाले छहारी पाउने संकेत देखिएको छ । योसँगै आफूले निरन्तर विजयी हुँदै आएको सो क्षेत्रमा पार्टीभित्रकै केन्द्रीय नेतृत्व हाबी हुँदा प्रतिनिधि सभा निर्वाचनमा भिड्ने तयारी गरेका आकंक्षीहरू ‘ब्याक’ हुने चुनावी चर्चा शुरू भएको छ ।
सो क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) र क्षेत्र नं. २ मा एकीकृत समाजवादीका नेता एवं पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा चुनावी प्रतिष्पर्धा गर्ने चर्चा रहेको छ । त्यस्तै, सोही क्षेत्रमा राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट दीपक सिंहले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने घोषणा गरिसकेका छन् ।








































