जापान (टाेक्याे) । गतसाता मात्र बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको राष्ट्रिय सम्मान सहितको अन्त्येष्टि कार्यक्रममा भाग लिन विश्वका महान् र शक्तिशाली व्यक्तित्वहरूको लन्डनमा जमघट भएको थियो । अब तिनै व्यक्तित्वहरूमध्ये अधिकांश जापानका हत्या गरिएका पूर्वप्रधानमन्त्री सिन्जो आबेको अन्त्येष्टिमा भाग लिन विश्वको अर्को भागमा जाँदैछन् ।
तर, स्वयं जापानी जनता भने यति धेरै महत्वपूर्ण अन्तर्राष्ट्रिय व्यक्तित्व जम्मा हुनलागेको कार्यक्रमलाई लिएर खुसी छैनन् । त्यसको एकमात्र प्रमुख कारण हाे, अन्त्येष्टिमा खर्च हुन लागेको १ करोड १४ लाख अमेरिकी डलर ।
केही सातादेखि जापानी सडकहरूमा राष्ट्रिय स्तरको उक्त अन्त्येष्टिको विरोध प्रदर्शन हुँदै आएको छ । हालै गरिएको एक मत सर्वेक्षणअनुसार जापानको ५० प्रतिशत भन्दा बढी जनता यस अन्त्येष्टि आयोजनाको विपक्षमा देखिएका छन् । केही दिनअघि मात्र राजधानी टोक्योमा प्रधानमन्त्री कार्यालय नजिक एकजना जापानी पुरुषले यसविरुद्ध आत्मदाह गरेका थिए ।
साथै, सोमबार करिब १० हजार व्यक्तिले अन्त्येष्टि स्थगनको माग राख्दै राजधानीका सडकहरूमा मार्च गरेका छन् । अर्को कोणबाट हेर्ने हो भने, यस कार्यक्रमले विश्वभरिका जापानी गठबन्धनलाई तानिरहेको छ
जापानको प्रमुख गठबन्धन मुलुक अमेरिकाका राष्ट्रपति जो बाइडेनले यसमा सहभागिता जनाउने छैनन् । तर, उप– राष्ट्रपति कमला ह्यारिस भने यसमा सरिक हुँदैछिन् । सिंगापुर र अस्ट्रेलियाली प्रधानमन्त्री लि सियन लुँग र एन्थोनी अल्वानिज पनि टोक्यो पुग्दैछन् ।
यसैगरी महारानी एलिजाबेथको अन्त्येष्टिमा अनुपस्थित भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आबेको अन्त्येष्टिमा भने सहभागिता जनाउँदैछन् ।
अन्तर्राष्ट्रिय व्यक्तित्वहरू जम्मा हुने भएपनि जापानी जनता भने यस अन्त्येष्टिलाई ‘असामान्य’ ठानेर पनि विरोध जनाउँदैछन् ।
वास्तवमा जापानमा शाही परिवारका सदस्यहरूलाई मात्र राष्ट्रिय स्तरको अन्त्येष्टि सम्मान दिने प्रचलन छ । दोश्रो विश्व युद्धयता एकपटक मात्रै अर्थात् सन् १९६७ मा एकजना राजनीतिज्ञलाई यस्तो सम्मान दिइएको थियो ।
साथै, आबेको मृत्यु स्वाभाविक पनि थिएन । गत जुलाइमा एउटा चुनावी र्यालीमा भाग लिने क्रममा उनको गोली हानी हत्या भएको थियो ।
मत सर्वेक्षणअनुसार लामो समय सत्तामा रहेपनि उनी त्यति धेरै लोकप्रिय पनि थिएनन् । तर, थोरैले मात्र उनले मुलुकमा स्थिरता र सुरक्षा ल्याएको तथ्यलाई अस्वीकार गर्छन् । मंगलबार दिउँसाे २ बजे टोक्योको मध्य भागमा अवस्थित निप्पोन बुदोकानमा सुरु हुने अन्त्येष्टि कार्यक्रममा देश र विदेशका करिब छ हजार व्यक्तित्वको उपस्थित रहनेछन् ।








































