काठमाडौं । भारतका लागि पूर्वराजदूत नीलाम्बर आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णयको समर्थन गर्दै ट्विटमार्फत धारणा सार्वजनिक गरेका छन् ।
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरी निष्क्रिय बनाइदिएपछि उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका हुन् । पूर्वकानुनमन्त्री समेत रहेका आचार्यले ‘अब जे गर्ने हो निर्वाचनपछिको संसद्ले गर्ने’ बताएका छन् ।
“सापेक्षतामा हेर्नुपर्छ । आम निर्वाचनको मुखमा सम्पूर्ण प्रक्रिया नअपनाई व्यापक विचारविमर्शलाई पन्छाई नागरिकताजस्तो विषयमा निर्णय गर्नु नै गलत थियो । राष्ट्रपतिले सन्देशमा उठाएका प्रश्नको उपेक्षा गर्नु अर्को गल्ती थियो,” आचार्यले लेखेका छन्, “अब जे गर्नुपर्छ चुनावपछिको संसद्ले गर्छ ।”
आचार्य ०४६ सालको आन्दोलनपछि वाममोर्चाका तर्फबाट कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मन्त्री बनेका थिए । उनी लामो समय वाम राजनीतिमै थिए । तर, ०६४ सालको निर्वाचनपछि नेपाली कांग्रेसको कोटामा मनोनीत सांसद भए । आचार्य ०७४ सम्म कांग्रेसनिकट थिए ।
०७४ मा कांग्रेसले पराजय बेहोरेपछि तत्कालीन नेकपा हुँदै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग निकट भएपछि भारतका लागि राजदूत नियुक्त भएका थिए । उनलाई वर्तमान गठबन्धन सरकारले फिर्ता बोलाएर डा. शंकर शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेको थियो ।








































