भुटानमा शान्ति निर्माण र मेलमिलापका लागि विश्वव्यापी रुपमा दवाव दिन अमेरिकाको न्यूयोर्कमा सेप्टेम्बर २१ तारिक बुधवार शान्ति र्याली आयोजना हुने भएको छ।
नेपाल र तेस्रो मुलुकमा रहेका भुटानीलाई भुटानमा रहेका परिवारका सदस्य तथा आफन्त सँग भेटघाट समेन हुन नसकेको अवस्थामा त्यसलाई तोड्न शान्ति र्याली आयोजना गर्न लागिएको जनाइएको छ।
‘द्वन्द्वबाट सहकारिता र कूटनीति’ नारा सहित हुने शान्ति र्याली बुधबार दिउसो एक देखि दुई बजे सम्म न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको कार्यलय अगाडि हुने छ। (Dag Hammarskjold Park, Rally B (E. 47′ St. Bet. 1 & 2- AVe, NYC)

शान्ति पहल भुटान (पीआईबी) को आयोजनामा शान्ति र्याली हुन लागेको हो। पीआईबीका अध्यक्ष सुरज बुढाथोकीका अनुसार नेपालमा रहेको क्याम्प तथा तेस्रो मुलुकमा रहेका भुटानीले भुटानमा रहेका परिवार तथा आफन्त सँग भेटघाट गर्न पाएका छैनन्। ‘हाम्रो परिवार भुटानमा छ, तर हामीलाई भुटान जान नदिनु पनि हिंसा हो, त्यसैले संयुक्त राष्ट्र संघको महासभाको अवसर पारेर हामीले शान्ति र्याली आयोजना गर्न लागेका हौ।’ बुढाथोकीले भने।
बुढाथोकीले नेपालको क्याम्पमा रहेका भुटानी शरणार्थीको विषयमा पनि दिगो समाधान हुनु पर्ने आफुहरुको माग रहेको बताए।
‘महासभा भइरहेको समयमा विश्वका नेताहरुलाई हाम्रो समस्या के हो, भुटानमा शान्ति र हिंसाको अवस्था कस्तो छ भनेर अवगत होस भन्ने हाम्रो चाहाना हो।’ बुढाथोकीले भने। ‘भुटानीहरुको राम्रो भविष्यका लागि विश्व नेताहरुको ध्यानाकर्षण गराउने हो।’
शान्ति पहल भुटान (पीआईबी) का अनुसार अमेरिकामा एक लाख दश हजार भन्दा बढी भुटानी बस्छन्। यस्तै अन्य देशमा पनि १४ हजार भन्दा बढी छन्।
‘विदेशमा रहेकाहरु पारिवारिक विछोडका कारण उच्चतम आत्महत्यालगायत असंख्य चुनौतीहरूको सामना गर्छन्, राष्ट्रिय स्तरमा, भुटानी कारागारहरूमा राजनीतिक कैदीको रूपमा आजीवन कारावास भोगिरहेका परिवारका सदस्यहरू, र शरणार्थीहरूको स्थिति विदेशी सहायता बिना अन्धकारमा छ।’ पीआईबीको विज्ञप्तीमा उल्लेख छ।
र्यालीका सहभागीहरूले विश्व नेताहरूलाई मानवअधिकारको रक्षा गर्न आग्रह गर्ने छन्। भुटानमा लोकतन्त्र, सकारात्मक शान्ति र मेलमिलाप निर्माण गर्न तथा विश्वास र आपसी समझदारीमा जन्म देशमा शान्ति पुग्ने आशामा भुटान सरकारबीच विद्यमान मतभेदलाई मिलाएर दिगो शान्ति गर्नु उद्देश्य रहेको जनाइएको छ।








































