काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उप-सचिव प्रमोद नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीसँगै बीबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ।
प्याराग्लाइडिङ सञ्चालनका लागि अनमुति पत्र (लाइलेन्स) बनाइदिने अभियोजनमा नेपालले सेवाहीग्राहीबाट ६ लाख घुस माग गरेको अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान गर्दा ६ लाख घुस लिएको खुलेपछि भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन्।
अख्तियारको टोलीले नेपाललाई ६ लाख घुस रकमसहित काठमाडौं महानगरपालिका -१ मनकामना मार्गबाट नियन्त्रणमा लिएको थियो। उनले प्रयोग गरेको गाडी खनतलासी गर्दा स्रोत नखुलेको १६ लाख ५० हजार रकम पनि बरामद भएको थियो।
कारमा भेटिएको उक्त रकम नेपालले श्रेष्ठसँग सापटी लिएको बयान दिएका थिए । त्यसका आधारमा थप अनुसन्धान गर्दा श्रेष्ठले नेपाललाई घुसबापत उक्त रकम दिएको देखिएको अख्तियारले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।








































