पत्रकारलाई ‘कानको जाली फुटाउँछु’ भनेर धम्क्याउने निर्देशक सुदर्शन थापाले माफी मागेका छन् ।
शुक्रबार प्रहरी वृत्त गौशालामा सुदर्शनले पत्रकार सुजन श्रेष्ठसँग आफ्नो गल्ती स्वीकार गरेर माफी मागेका हुन् । सुदर्शन निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’बारे नौलोन्युजडटकममा ‘टिकट फ्रि हुँदा पनि हल सुनसान’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि अघिल्लो साता सोमबार उनले सुजनलाई धम्की दिएका थिए ।
धम्कीको अडियोसमेत सार्वजनिक भएको थियो । बिहीबार सुजनले आफूलाई मानसिक रूपमा दबाब महसुस भएको भन्दै उजुरी दिएका थिए ।
‘गौशाला प्रहरी वृत्तमा आज मेलमिलाप भएको छ । उहाँले गल्ती स्वीकार गर्नुभएको छ । अब मुद्दालाई अगाडि नबढाउने समहति भएको छ,’ सुजनले भने ।








































