काठमाडौंको हात्तीसारस्थित जय नेपाल हल परिसरभित्रै टुकुचा खोला भेटिएको छ । काठमाडौं महानगरपालिकाको डोजर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको हो ।
काठमाडौं महानगरले नक्साअनुसार गरेको मार्किङका आधारमा हल परिसरमा खोतल्दा टुकुचा खोला भेटिएको जनाएको छ ।
महानगरले यसअघि नै टुकुचा खोला मिचेर बनाइएका अतिक्रमित संरचना हटाउन सूचना जारी गरेको थियो । ३५ दिने सूचना जारी गर्दा पनि अतिक्रमित संरचना नहटाएपछि खोला खोज्न महानगरले डोजर लिएर पुगेको हो ।
अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको गरिएको महानगरले जनाएको छ । पछिल्लो समय काठमाडौं महानगरले अतिक्रमित संरचना डोजर लगाएर हटाउने अभियान चलाएको छ
काठमाडौंको बाँसबारी–चन्डोलबाट नारायणहिटी–कमलादी हुँदै बागमतीतर्फ बग्ने यो खोलाको केही खण्ड गायब भएपछि महानगरले खोजी सुरु गरेको हो ।
काठमाडौं प्लाजादेखि जय नेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापीनक्साबाटै गायब छ ।
खोलाको जमिन ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको छ । यो क्षेत्रमा व्यावसायिक भवन निर्माण भएका छन् ।








































