विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्ने भएका छन् । निकट श्रोतका अनुसार अध्यक्ष लिङ्देनपछिको दोस्रो वरीयताको उपाध्यक्ष बनेर मिश्र पार्टी प्रवेश गर्ने भएका हुन्। मिश्रलाई दोश्रो वरियतामा उपाध्यक्ष दिने भएसंगै राप्रपा केही नेताहरुले असन्तुष्टि प्रकट गरेपनि अध्यक्ष लिङ्देनले फ़काइरहेका छन्।
राप्रपामा अहिले ६ जना उपाध्यक्ष रहेका छन् । राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ ।
मिश्र पार्टी प्रवेशको घोषणा अब एक/दुई दिनभित्रै हुने राप्रपा एक नेताले बताए। मिश्रलाई राप्रपाले काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने करिब निश्चित भैसकेको छ। मिश्रले असोजको पहिलो साता उम्मेदवारी औपचारिकरुपमा घोषणा हुने बताएका छन् । काठमाडौं-१ बाट विवेकशील साझाका पूर्वनेता पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
२०७४ सालको चुनावमा मिश्र काठमाडौं-१ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रुपमा मैदानमा आएका थिए। उनले त्यतिबेला
नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहलाई कडा टक्कर दिएका थिए। उक्त चुनावमा मिश्र ८१८ झिनो मतले पराजित भएका थिए । स्थानीय तहको निर्वाचनमा पार्टीले नराम्रो पराजय भोगेको भन्दै जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए ।








































