लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता लक्ष्मणलाल कर्णले आन्दोलनरत कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कर्णले चुनावको मुखमा आन्दोलन चर्किए त्यसले राम्रो नगर्नेतर्फ सचेत गराए । कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न सरकारलाई उनले ध्यानाकर्षण गराए ।
हुलाक सेवामा कार्यरत अतिरिक्त कर्मचारीहरूको तलव सरकारले तोकेको मापदण्ड भन्दा पनि अति न्यून भएको उल्लेख गर्दै उचित व्यवस्था गर्न पनि कर्णको आग्रह थियो ।
‘सम्मानीय सभामुख महोदय, नेपाल सरकारले तय गरेको न्युनतम तलव जुन हो, त्यो १५ हजारभन्दा कम कसैलाई पनि दिन मिल्दैन । तर, सरकारले नै ७/८ हजार रुपैयाँमा मान्छे नियुक्त गर्छ भने यो श्रम शोषण हो,’ कर्णले भने, ‘सरकारले श्रम शोषण गर्न पाउँछ कि पाउँदैन ? यदि सरकारले श्रम शोषण गर्छ भने अरुले श्रम शोषण गरे के कारवाही गर्ने ?’








































