काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले आफू र संस्था नेपाल क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेकै पक्षमा रहेको बताएका छन् ।
उनले अनुसन्धानलाई भने सहयोग गर्ने बताए । लामिछानेमाथि एक किशोरीले भदौ ५ गते राति आफूमाथि बलात्कार गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् ।
सन्दीप अहिले सीपीएल टी–२० लिग खेल्न वेष्ट इन्डिजमा छन् । सन्दीपमाथि आरोप लागेपछि क्यानले उनलाई निलम्बन गर्ने तयारी गरेको छ ।
“सन्दीपबारे आवश्यक निर्णय त लिने नै छौं । तर अहिलेसम्म उहाँ आरोपी मात्रै हो,” क्यानका अध्यक्ष चन्दले भने, “त्यसैले प्रहरी अनुसन्धानलाई हाम्रो सहयोग रहन्छ । उनीविरुद्धको आरोप निराधार प्रमाणित होस् भन्ने चाहन्छु ।”
अहिले नै यस विषयमा धेरै बोल्ने पक्षमा नरहेको उनले बताए । तर, तत्काल सन्दीपको अनुपस्थितिले राष्ट्रिय टोलीलाई ठूलो झड्का लाग्ने चन्दको भनाइ छ ।
खेलाडीमाथि आरोप लागेपछि अन्तर्राष्ट्रिय अभ्यास के छ त्यसबारे आफूहरुले छलफल गरिरहेको उनले बताए ।








































