राष्ट्रपतिको राजीनामाको हल्लाबारे प्रधानमन्त्री देउवाले बालुवाटारमा कुरा उठाएका थिए
राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वसैनिक अधिकारीहरूलाई बुधबार अपरान्ह शितल निवासमा बोलाएकी थिइन्।
त्यहाँ बहालवाला प्रधान सेनापति र पूर्वप्रधान सेनापतिहरूलगायत पुगेका थिए।
राष्ट्रपतिले ‘धन्यवाद दिन’ भन्दै पूर्वसैनिक अधिकारीलाई निम्त्याएकी थिइन्, सो क्रममा रात्रीभोज पनि भएको थियो।
राष्ट्रपति नेपाली सेनाको परमाधिपतिसमेत हुन्।
राष्ट्रपति भण्डारीले पूर्वसैनिक अधिकारीहरूसँग विभिन्न विषयमा कुराकानी गरेकी थिइन्। प्रतिनिधि सभाबाट हालै दोस्रो पटक पारितनागरिकता संशोधन विधेयकबारे पनि त्यहाँ कुरा उठेको थियो।
राष्ट्रपतिले प्रमाणीकरणका लागि पुगेको नागरिकता संशोधन विधेयक पुन: संसदमै फिर्ता गरे पनि हुबहु प्रतिनिधि सभाबाट फेरि पारितभइसकेको छ भने राष्ट्रिय सभामा पेश हुने तयारीमा छ। पूर्वसैनिक अधिकारीहरूले पनि नागरिकता संशोधन विधेयकबारे आ-आफूलाईलागेका कुरा राष्ट्रपतिलाई सुनाएका थिए।
पूर्वउपरथी सुरेश कार्कीले ‘नागरिकतामा तपाईंले लिएका कदम ठिक छन् तर यसैलाई लिएर राजीनामा दिनेसम्मका कुरा आएका छन्नि!’ भन्ने प्रसंग उठाएका थिए।
यसबारे राष्ट्रपति भण्डारीले भने राजीनामा दिने कुरा हल्ला मात्रै भएको बताइन्।
‘नागरिकता विधेयक, अग्निपथ (भारतीय सेनाले सैनिक भर्तीबारे ल्याएको एक योजना) लगायत विषयमा कुराकानी भइरहेका बेलाराष्ट्रपतिले राजीनामा दिने प्रसंगका कुरा पनि निस्केको थियो। मैले राजीनामा दिने कुरा बजार हल्ला मात्रै हो, यसमा मैले केही सोचबनाएको पनि छैन भनेर उहाँ (राष्ट्रपति) ले भन्नुभयो,’ शितल निवास पुगेका एक सैनिक पूर्वअधिकारीले सेतोपाटीसँग भने।
केही पूर्वसैनिक अधिकारीहरूले भने राष्ट्रपतिले लिने नागरिकता कदममा आफूहरूले समर्थन गर्ने बताएका थिए।
नागरिकता विधेयक प्रतिनिधि सभाबाट पुन: पारित भइसकेको र राष्ट्रिय सभाबाट पनि पारित गर्दै सभामुखमार्फत प्रमाणीकरणका लागिराष्ट्रपतिकहाँ पठाउने तयारी छ।
सभामुखले पठाएको १५ दिनभित्र राष्ट्रपतिले विधेयक पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर राष्ट्रपतिले नागरिकता विधेयक पारितनगरी राजनीतिक कदमका रूपमा राजीनामा दिन सक्ने चर्चा केही दिनदेखि भइरहेका छन्।
ती उपरथीका अनुसार राष्ट्रपति भण्डारीले भने राजीनामा दिनेबारे केही नसोचेको र कतै पनि केही कुरा नगरेको बताएकी थिइन्।
गत मंगलबार सत्ता गठबन्धन बैठकपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रपतिले राजीनामा हल्ला छ नि!’ भनेर आफूनिकट केही मन्त्रीर नेतासँग जिज्ञासा राखे। ती मन्त्री र नेताहरूले भने ‘हामीलाई त त्यस्तो लाग्दैन’ भनेका थिए।
‘प्रधानमन्त्री देउवाले राष्ट्रपतिले राजीनामा दिने हल्ला चलेको छ नि भनेर प्रसंग उप्काउनुभएको हो। राष्ट्रपतिले राजीनामा दिँदैछिन् भनेरजानकारी गराउनुभएको होइन,’ ती नेताले भने, ‘प्रधानमन्त्रीसहित त्यहाँ उपस्थित हामी कसैले पनि यो कुरालाई गम्भीरतापूर्वक लिएनौं।’
प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यको दाबीअनुसार राष्ट्रपतिले राजीनामा दिने भन्ने सूचना बालुवाटार आएको छैन।








































