काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठक स्वयंम शेखर, महामन्त्री गगन थापा लगायतका नेताहरूको उपस्थितीबिनैसुरू भएको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक केहीबेरअघिबाट सुरू भएको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले भातृ संस्था गठनमा एकलौटी मनोनयन गरेको भन्दै छलफल गर्न शेखर समूहले यो भेला डाँकेको थियो। तर भेलामा स्वयम् शेखर, महामन्त्री थापा, पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसी लगायतका प्रभावशाली नेताहरू उपस्थित भएका छैनन्। उनीहरू व्यस्तताका कारण आजको बैठकमा सहभागि हुन नसक्ने सोही समूहका एक नेताले बताए ।
बैठकका युवा नेता गुरुराज घिमिरे, केन्द्रीय सदस्य प्रकाश रसाइली, नुवाकोट कांग्रेसका पूर्व सभापति जगदिशनरसिंह केसी लगायतअन्य नेताकार्यकर्ताहरू सहभागि छन् ।
सभापति देउवाले भातृसंस्था पुनर्गठन गर्दा हालसम्म नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, महिला संघमा उषा मिश्र राउत, नेपाल किसान संघमा गणेश तिमिल्सिना र नेपाल आदिवासी जनजाति संघमा ओमबहादुर घर्तीलाई अध्यक्षमा मनोनीत गरिसकेका छन्।
मनोनयन भएका सबै भ्रातृ संस्थाका अध्यक्षहरु संस्थापन पक्षका हुन् ।








































