बुधबार सामाजिक सञ्जालमा एउटा तस्बिरले चर्चा पायो।
बिहान काठमाडौं गौशाला चोकको त्यो तस्बिरमा दुई जना मोटरसाइकल चालक ट्राफिक जाममा रोकिएका थिए। त्यो तस्बिरमा दुईवटाबाइकका सवारी चालकले एक अर्काको नम्बर प्लेट हेर्दै गरेको देखिन्छ।
दुबै मोटरसाइकलको एउटै नम्बर प्लेट देखेपछि उनीहरूले एकअर्काको नम्बर प्लेट हेरेका हुन्।
दुबै मोटरसाइकलमा बागमती प्रदेश-०२-०२२ प २३८० नम्बरको प्लेट छ।
त्यही तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल छ। सामाजिक सञ्जालमा आएपछि यसबारे काठमाडौं उपत्यका ट्राफिक प्रहरीकार्यालयले पनि अनुसन्धान गरेको छ।
ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सञ्जिव शर्मा दासका अनुसार यो तस्बिर बाहिरिएपछि कार्यालयले दुबै मोटरसाइकलखोजेको हो।
एउटा मोटरसाइकलका चालक भने सम्पर्कमा आइसकेका छन्। एनएस प्लसरका चालक ट्राफिक प्रहरी कार्यालयमा छन्।
उनको कागजात हेर्दा भने सबै ठीकै भएको उनले बताए।
‘एउटा एनएस पल्सर सबै कागजपत्र पनि ठीकै, नम्बर पनि ठीकै भएको छ। उहाँ हाम्रो कार्यालयमै हुनुहुन्छ,’ उनले भने,‘अर्को खोज्दैछौं।’
उनका अनुसार अर्को मोटरसाइकल भने भक्तपुरतर्फ गएको सिसिटिभीमा देखिएको छ।
उक्त मोटरसाइकल चालकको पनि खोजी भइरहेको कार्यालयले जनाएको छ। उनी पनि सम्पर्कमा आइसकेपछि मात्रै के भएको हो भन्नेबुझिने प्रहरी उपरीक्षक दासले बताए।








































