गोरखा, सोमबार, ९ जेठ २०७९ । गोरखाको भिमसेनथापा गाउँपालिका उपाध्यक्ष अमृता वस्तीले आफ्ना सम्पुर्ण मतदाता शुभचिन्तक र सहयोगीमा हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्नु भएको छ ।
राजनीतिलाई मागी खाने भाँडो बनाउने र सुविधा भोगी राजनीतिमा रमाउने वर्तमान परिपाटीको अन्त्य गर्दै समर्पण भावले सामाजिक सेवामा रमाउने प्रणका साथ राजनीतिक यात्रा सुरु गरेको उहाँले बताउनु भयो ।
पालिका उपाध्यक्षको रुपमा मन, वचन र कर्मले जनताको सेवा गर्न प्रतिबद्धता ब्यक्त गर्दै श्रोत, साधन र क्षमता र यहाँहरुको जागरुकताले दिएको उर्जालाई प्रयोग गरी भिमसेनथापा गाउँपालिकामा सेवा प्रवाह, सामाजिक न्याय, लैंगिक समानता, क्षमता विकास र सुशासन युक्त गाउँपालिका बनाउने कुरामा सधै दृढ रहने बताउनु भयो ।
उहाँले सामाजिक संजाल फेसबुक मार्फत लेख्नुहुन्छ :
आदरणीय भिमसेनथापा गाउँपालिका निवासी बुवाआमा दिदिबहिनी तथा दाजुभाइहरु,
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यस गाउँपालिकाको उपाध्यक्ष पदमा मलाई उम्मेदवार बनाउने मेरो पार्टी नेपाली कांग्रेस र उक्त उम्मेदवारीलाई हार्दिकता साथ स्वीकार गर्ने सम्पूर्ण जनसमुदाय र सबै शुभ चिन्तकहरु प्रति म आभारी छु ।
मलाई यस निर्वाचनमा आफ्नो अमूल्य मत दिएर उपाध्यक्ष पदमा निर्वाचित गराउनु हुने भिमसेनथापा निवासी सम्पूर्ण मतदाताहरु प्रति म जीवनभर ऋणी रहनेछु । उक्त निर्वाचनको मत परिणाम गत जेष्ठ २ गते सार्वजनिक भइ जेष्ठ ६ गते पद र गोपनियताको सपथ लिई मैले कार्यभार सम्हालेको छु ।
राजनीतिलाई मागी खाने भाँडो बनाउने र सुविधा भोगी राजनीतिमा रमाउने वर्तमान परिपाटीको अन्त्य गर्दै समर्पण भावले सामाजिक सेवामा रमाउने प्रणका साथ मैले राजनीतिक यात्रा सुरु गरेको कुरा यहाँहरु सबैलाई अवगत गराउन चाहन्छु ।
पालिका उपाध्यक्षको रुपमा मन, वचन र कर्मले जनताको सेवा गर्न म प्रतिबद्ध छु । यहाँहरुले आफ्नो अमूल्य मत दिएर मलाई कार्य सम्पादन गर्न अवसर दिनुभएकोमा यहाँहरुप्रति गर्व गर्दै मेरो कार्यकाल भरि यहाँहरुको मतको अवमुल्यन गर्ने छैन ।
श्रोत, साधन र क्षमता र यहाँहरुको जागरुकताले दिएको उर्जालाई प्रयोग गरि मैले भिमसेनथापा गाउँपालिकामा सेवा प्रवाह, सामाजिक न्याय, लैंगिक समानता, क्षमता विकास र सुशासन युक्त गाउँपालिका बनाउने कुरामा सधै दृढ रहने छु ।
लोकतन्त्र, दिगो शान्ति र सामाजिक न्याय को मूल मर्मलाई आत्मसात गरि राजनीतिक यात्रामा अविचलित मेरो पार्टी नेपाली कांग्रेसले लिएको संकल्प पुरा गर्न र भिमसेनथापा गाउँपालिकाको नागरिकलाई सेवा उपभोग गर्ने वातावरण बनाउन म सधै तल्लिन भई लागिरहनेछु ।
आगामी दिनमा समग्र पार्टी, नेता कार्यकर्ता, आम नागरिक सबैको सल्लाह सुझावलाई मनन गरि आफ्नो कार्यकाल भरि अगाडी बढ्ने कुरामा यहाँहरु सबै माझ प्रण गर्न चाहन्छु ।
जय नेपाल तथा नमस्कार
अमृता वस्ती
उपाध्यक्ष, भिमसेनथापा गाउँपालिका









































