काठमाडौं, सोमबार, १९ वैशाख २०७९ । उत्तरी गोरखाको गोरखाको धार्चे ५ गुम्दा लगायतका आसपासका क्षेत्रमा आलु र मकैमा किराको प्रकोप देखिएको छ। यहाँका मुख्य खाद्यान्न बालीका रुपमा रहेको आलु र मकैको बोट किराले सखाप पारेपछि किसानहरु चिन्तित भएका छन्।
बङ्स, कोराजुङ, काशीगाउँ, माछाखोला लगायत गाउँमा किराले धेरै सताएको गुम्दाका कर्णबहादुर गुरुङले बताए। अघिल्लो वर्षमा ६/७ मुरी आलु फलेको थियो। आम्दानी राम्रो भएको थियो। तर अहिले किरा लागेकाले २ मुरी पनि नहोला जस्तो छ,’ उनले भने। यहाँ धान खेती हुँदैन। स्थानीयको मुख्य बाली आलु, मकै हो। मुख्य बालीमै क्षति पुगेपछि गुजारा चलाउनै मुस्किल हुने उनले गुनासो गरे।
यहाँ फागुनमा रोपेको मकै भदौमा र मंसिर अन्तिम तथा पुसमा लगाएको आलु जेठमा भित्र्याइन्छ। आलु र मकैको बोट किराले सखाप बनाएको स्थानीय सन्ध्या गुरुङले बताइन्। ‘यसपाली आलु र मकै केही छैन, किराले सबै खाइसक्यो, खेतबारी नै खाली हुन लाग्यो,’ गुरुङले भनिन्, ‘आलुको बोटमा डाँट मात्रै छ, मकैको पनि त्यस्तै छ।’ सबै किसानको बारीमा किरा फैलिएको उनले बताइन्।
केही समयअघि मकै गोडेमेल गरेका किसान किराले सबै सखाप बनाएपछि निराश छन्। केही ठाउँमा भने बिरुवा किराले खाएपछि किसानले गोडमेलमा चासो दिन छाडेका छन्। एउटै बोटमा पाँच/सात वटासम्म किरा भेटिएको गुरुङले बताइन्।
धार्चेमा जस्तै अन्यत्र पनि यस्तो समस्या देखिएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ। ‘गोरखाका धेरै पालिकाहरुमा आलु र मकै किराको प्रकोप देखिएको छ,’ कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले भने, ‘धेरै ठाउँमा कार्यालयबाट औषधि पनि पठाइरहेका छाैं।’
धार्चेको गुम्दा लगायतका ठाउँमा बर्खे सिजनमा लगाएका आलुमा लुपर किराले धेरै समस्यामा पारेको उनले बताए। अचानक यस्तो समस्या देखिएको बताउँदै आलु जोन घोषण गरेको क्षेत्रमाहरु जोन मार्फत नै औषधि वितरण गर्ने काम भइरहेको उनले बताए। यसका लागि क्लोरो साइपर औषधि दुई लिटर पानीमा दुई एमएल हालेर छर्न सकिनेछ। नागरिकबाट ।








































