काठमाडौँ, आइतबार, ४ वैशाख २०७९ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालको विकासका लागि जापानका जनताको महत्वपुर्ण योगदान रहेको बताउनु भएको छ । राजधानीमा शनिबार आयोजना भएको नेपाल जाइका अल्मुनाइ एसोसिएसन (जान) को ४८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको विकासका लागि जापानी जनता र जापान सरकारको सहयोगले महत्वपुर्ण भूमिका खेलेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाललाई सहयोग गर्ने धेरै मित्र छन् । तीमध्ये जापान ठूलो सहयोगदाता हो । जापानले धेरै जसो सहयोग सर्तबिनाको गर्ने गरेको छ ।” मन्त्री खड्काले नेपालमा बेलाबेला हुने प्राकृतिक विपत् तथा महामारीमा समेत जापानले उल्लेखनीय सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जापानले छोटो समयमा भौतिक तथा प्रविधिको विकास र लोकतन्त्रको संस्थागत सुधार एकैसाथ गरेको हो । त्यसबाट नेपालले पनि सिक्न जरुरी छ ।”
मन्त्री खड्काले शिक्षा, स्वास्थ्य, औद्योगिक प्रगति र मानवीय दक्षता हासिल गर्ने विश्वका केही सीमित मुलुकमा जापान पर्र्ने गरेको बताउँदै जापानले गरेको प्रगतिलाई नेपालले समात्न सके नेपालको विकास छिटै हुने तर्क प्रस्तुत गर्नुभयो ।
नेपालका लागि जापानका राजदूत युताका किकुताले नेपाल र जापानको सम्बन्ध पुरानो भएकाले दुई देशले आपसी हितमा काम गर्ने गरेको बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय मञ्चमा समेत नेपाल र जापानका कतिपय समान धारणा हुने गरेको बताउँदै आगामी दिनमा नेपाललाई जापान सरकारले थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जापान अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका) का नेपाल प्रमुख आकिमित्सु ओकुबोले नेपालको आर्थिक, पूर्वाधार तथा स्वास्थ्य सुधार, सामाजिक विकासलगायतका काममा जापानले सहयोग गर्दै आएको बताउँदै यो सहयोग निरन्तर रहने बताउनुभयो । उहाँले नेपालजस्ता असल मित्र राष्ट्रको विकासका लागि जापानले जहिले पनि साथ दिँदै आएको बताउनुभयो ।
जापानमा शिक्षा, तालिम तथा प्रशिक्षण लिएका नेपालीहरूको साझा संस्था जान हो । यो संस्थाले नेपाल र जापानबीच सहयोग, मित्रता तथा विकास प्रविधिलाई आदानप्रदान गर्नमा सहयोग गर्दै आएको छ । जानको स्थापना सन् १९७३ मा स्थापना भएको हो । यो संस्थामा एक हजार तीन सय सदस्य रहेका छन् भने ६०० व्यक्ति आजीवन सदस्य रहेका छन् । कार्यक्रममा जानद्वारा प्रकाशित मिलन पत्रिका विमोचन गरिएको थियो ।








































