काठमाडौँ, शनिबार, १९ चैत्र २०७८ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको छ । आज शनिबार भएको भेटवार्तापछिको संयुक्त पत्रकार सम्मेलनमा देउवाले मोदीलाई नेपाल भ्रमणको निम्तो दिनु भएको हो ।
प्रधानमन्त्री शेर बहादुर देउवाले भन्नुभयो ‘हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौं । प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतिक्षारत छु ।’
नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
हैदरावाद हाउसमा भएको वार्तापछि अन्तर्राष्ट्रिय सौर्य ऊर्जा साझेदारीमा नेपाल औपचारिक रूपमा सामेल हुने, नेपालको रेल्वे क्षेत्रमा भारतीय प्राविधिक सहयोग, पेट्रोलियम क्षेत्रमा सहयोग र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच विशेषज्ञ आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
दुवै देशका प्रधानमन्त्रीले कुर्था–जयनगर यात्रुवाहक रेल सेवालाई झन्डा देखाएर शुभारम्भ गर्नुभयो । नेपालमा प्रयोगका लागि भारतको ‘रुपे डिजिटल कार्ड’ पनि संयुक्त रुपमा सार्वजनिक गर्नु भएको छ । प्रधानमन्त्री देउवा र मोदीले भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी तथा सोलु करिडोर १३२ किलोभोल्ट प्रसारण लाइनको पनि संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त प्रसारण लाइन भारत सरकारको रु तीन अर्ब २० करोड ऋण सहयोगमा र भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएको हो ।








































