पर्सा — राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डा महावीर पुनले तीनै तहको सरकारले मुलुकमा नयाँ आविष्कारका लागि पुँजीगत बजेटको १ प्रतिशत हिस्सा छुट्याउनुपर्ने माग गरेका छन् । नेपाल योङ्ग आन्टरप्रेनर्स फोरम वीरगन्ज च्याप्टरले मंगलबार वीरगन्जमा आयोजना गरेको पुनसँग विद्यार्थीहरूको साक्षात्कार कार्यक्रममा आफ्नो धारणा राख्दै डा पुनले तीनै तहका सरकारले नयाँ आविष्कारमा पुँजीगत बजेट छुट्याउनुपर्ने माग गरेका हुन् ।

‘मुलुकका तीनवटै तहका सरकारले नयाँ नयाँ आविष्कार कार्यका लागि आफ्नो पुँजीगत बजेटको कम्तीमा १ प्रतिशत हिस्सा छुट्याउनुपर्छ‚’ उनले भने, ‘नयाँ नयाँ आविष्कारले रोजगारी र उद्यमशीलता सिर्जना गर्छ । सरकार बलियो भए मात्र देश बलियो हुन्छ ।’
आफूले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्नुअघि ४ वर्षसम्म विभिन्न नेता, अर्थशास्त्री, योजनाविद्हरूलाई आफ्नो सोच बताएको तर कसैले गम्भीरताका नलिएपछि आफ्नै प्रयासमा आविष्कार केन्द्र स्थापना गरेको उनले बताए ।
युवा विद्यार्थीहरूलाई रोजगारी सिर्जना गर्न ‘आविष्कार र इनोभेसन’मा लाग्न प्रेरित गर्दै उनले रोजगारी सरकारले नभई उद्योगले दिने भएकाले उद्यमशीलता सबैभन्दा जरुरी रहेको बताए । ‘उद्यमी बनाउन आविष्कार र इनोभेसन नभई नहुने कुरो रहेछ‚’ उनले भने, ‘मैले अमेरिकाबाट फर्केर स्वदेशमा २० वर्ष बिताएपछि मात्र यो कुरो बुझेको हुँ ।’
युवा विद्यार्थीहरूलाई आविष्कार र उद्यमशीलताका लागि हरसम्भव प्रयत्न गर्न उत्प्रेरित गर्दै उनले भने, ‘आविष्कार र उद्यमशीलता गर्न कहिल्यै नचुक्नु, समय लाग्ला, एकपटक हार भए अर्को पटक सफलता अवश्य मिल्नेछ ।’
समारोहमा वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले महानगरपालिकाको कार्यालयको तर्फबाट आविष्कार केन्द्रलाई ५० हजार, नेपाल योङ्ग आन्टरप्रेनर्स फोरम वीरगन्ज र वीरगन्जका विभिन्न कलेजले थप १ लाख रुपैयाँको आर्थिक सहयोग गरेका थिए ।








































