जनता समाजवादी पार्टी नेपालको संघीय परिषद्को बैठक आजदेखि सुरु हुँदैछ । परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बैठकमा प्रस्तुत गर्नका लागि ३२ पृष्ठको ‘समसामयिक राजनीतिक र जसपाको कार्यदिशा’ राजनीतिक प्रतिवेदन तयार पारेका छन् । १४ बुँदामा समेटिएको सो कार्यदिशामा अन्तर्राष्ट्रिय सम्बन्ध, पार्टीको वैचारिक पक्ष, अन्य पार्टीसँगको सम्बन्ध, अगामी कार्यदिशालगायतका विषयवस्तु उनले समेटेका छन् ।
उनले जसपाबाट अलग भएर लोकतान्त्रिक समाजवादी पार्टी बन्नुलाई स्वाभाविक रूपमा लिएका छन् । उनले भनेका छन्, ‘महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका केही साथीहरूले प्रतिगामी ओली सरकारसँग गैरराजनीतिक चरित्रको हेलमेल र हिमचिम बढाउँदै त्यसमा सामेल हुने गलत बाटो अवलम्बन गर्न पुगे ।’ उनीहरूले यो कुरा बेलैमा बुझ्न नसक्दा पार्टी र आन्दोलनलाई हानी नोक्सानी पुग्यो नै, स्वयं उनीहरूको राजनीतिक भविष्य सङ्कटमा परेको उनले उल्लेख गरेका छन् ।
उनीहरूले ओलीको त्यो कदमलाई साथ दिने र ओली सरकारमा सामेल हुने झनै गलत बाटो अख्तियार गरेको उल्लेख गर्दै अध्यक्ष भट्टराईले २०७८ श्रावण ११ गते निर्वाचन आयोगले पार्टीको आधिकारिता आफूहरूलाई दिएको र बाटो बिराएका अल्पमत पक्षका साथीहरू भिन्नै पार्टी गठन गर्ने निर्णयमा पुगेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘पार्टी एकताको छोटो समयभित्रै सामना गर्न परेका यी उत्तर चढाव निःसन्देह असहज र दुर्भाग्यपूर्ण थिए । तथापि विभाजनकारी तत्त्वले पार्टीलाई खासै हानी पुर्याउन भने सकेनन् । पार्टीको ठूलो पङ्क्ति जनता समाजवादी पार्टी कै पक्षमा रह्यो ।’








































