काठमाडौँ, शुक्रबार, ६ फागुन २०७८ । आईसीसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानमाथि ३९ रनको रोमान्चक जित हात पारेको छ ।
१ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट हुदै ७८ रनमात्र जोड्न सक्यो ।ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाएका थिए ।
नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक तीन विकेट लिए । कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान दुई–दुई विकेट लिए । त्यस्तै,अविनाश बोहरा र जितेन्द्र मुखियाले एक–एक विकेट हात पारे ।
कमल सिंह ऐरीले नेपाललाई पहिलो ओभरमै सफलता दिलाएका थिए । कमलले पहिलो ओभरको तेस्रो बलमा कश्यप प्रजापतिलाई दिपेन्द्र सिंह ऐरीबाट शुन्य रनमा क्याच आउट गराएका थिए ।
दोस्रो ओभरको पाँचौ बलमा जितेन्द्र मुखियाले अयान खानलाई आशिफ शेखबाट क्याच आउट गराए ।जातिन्दर सिंह छैठौं ओभरको दोस्रो बलमा दिपेन्द्र सिंह ऐरीबाट रनआउट भए ।
सन्दीप लामिछानेले सातौं ओभरको चौथों बलमा खबर अलीलाई बोल्ड गरे । दिपेन्द्र सिंह ऐरीले जिसन मक्सुदलाई आठौं ओभरको पाँचौ बलमा कुशल भुर्तेलबाट क्याच गराए ।
अविनाश बोहराले सोएब खानलाई आशिफ शेखबाट क्याच आउट गराए । सन्दीपले नसिम खुसीलाई १३ औं ओभरको पाँचौ बलमा बोल्ड गरे । त्यस्तै, दिपेन्द्रले आमिर कलिमलाई १४ औं ओभरको तेस्रो बलमा एलबिडब्लु आउट गराए ।
यस अघि अल अमेरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन जोड्न सक्यो ।
नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन जोडे । सन्दीप लामिछाने १६ रनमा अविजित रहे । त्यस्तै, लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दिपेन्द्र सिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ र कमल सिंह ऐरीले १ रन बनाए ।
ओमानका खवार अलीले सर्वाधिक ३ विकेट हात पारे । विलाल खानले दुई–दुई विकेट हात पारे । फयाज बट, जिसन मक्सुदले एक–एक विकेट लिए ।
ओमानविरुद्ध नेपालले खराब सुरुआत गरेको थियो । ओमानका विलाल खानले पहिलो ओभरको छैठौं बलमा आशिफ शेखलाई खवारी अलीबाट क्याच गराए ।
विलालले तेस्रो ओभरको चौथों बलमा कुशललाई पुनः खवारीद्धारा क्याच गराएका थिए । फयाज बटले भने ज्ञानेन्द्रलाई सातौं ओभरको पाँचौ बलमा बोल्ड गरे ।
दिपेन्द्रलाई कप्तान जिसन मक्सुदको नवौं ओभरको तेस्रो बलमा नसिम खुसीले स्टम्पीङ गरेका थिए ।खवार अलीले भने लोकेशलाई १४ औं ओभरको दोस्रो बलमा कलिमुल्लाहबाट क्याचआउट गराएका थिए ।
खवारले विवेकलाई १६ औं ओभरको अन्तिम बलमा फयाज बटबाट क्याच गराएका थिए । कमललाई खबारले १८ औं ओभरको दोस्रो बलमा कश्यप प्रजापतिबाट क्याच गराए ।
विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ मा विभिन्न आठ राष्ट्र सहभागी छन् । जसमा आयोजक ओमानसहित नेपाल, बहराइन, क्यानडा, जर्मनी, आयरल्यान्ड, फिलिपिन्स र संयुक्त अरब इमिरेट्स (युएई) छन् ।
ती आठ टोलीलाई पनि दुई समूहमा विभाजन गरिएको छ । समूह १ मा नेपाल, क्यानाडा, फिलिपिन्स र ओमान छन् भने समूह दुईमा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन् । प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियामा हुने टि २० विश्वकपमा स्थान बनाउनेछन् ।
नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, जीतेन्द्र मुखिया, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, लोकेश बम र गुलशन झा छन् । वैकल्पिकमा भने कुशल मल्ल, साहब आलम र प्रदीप ऐरी छन् ।









































