Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:१३:१५ दिउँसो
- ADVERTISEMENT -

भारतले एक तर्फी मोदी भ्रमणको मिति तोक्यो ‘वैशाख अन्तिम साता’

प्रकाशित मिति: २०७५ वैशाख ९, आइतबार

2008
Shares

सुरेशराज न्यौपाने/ कान्तिपुर

नयाँदिल्ली — चैत तेस्रो साता भारतको तीनदिने राजकीय भ्रमणका क्रममा नयाँदिल्ली रहँदा प्रधानमन्त्री केपी ओलीले सबैजसो औपचारिक र अनौपचारिक कार्यक्रममा भूगोलले सानोठूलो भए पनि नेपाल र भारतको हैसियत एउटै भएकोमा जोड दिएका थिए ।

तर, महिना दिन नबित्दै उक्त भनाइविपरीतका कूटनीतिक व्यवहार देखिएको छ । विशेषगरी भारतीय समकक्षी नरेन्द्र मोदीको नेपाल भ्रमणको मिति तय गर्ने सवालमा । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले मे दोस्रो साता प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने सन्देश पठाइसकेको छ ।

भारतको पछिल्लो प्रस्तावले काठमाडौंलाई अप्ठ्यारोमा पारेको देखिन्छ । नेपालका प्रधानमन्त्रीहरूले पहिलो विदेश भ्रमण भारतकै गर्ने परम्परालाई निरन्तरता दिएका ओली त्यसपछि उत्तरी छिमेक चीनको भ्रमणमा जाने तयारी सुरु भइसकेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको साताव्यापी चीन भ्रमण त्यही उद्देश्यमा केन्द्रित थियो । तर, ज्ञवाली काठमाडौं ओर्लंदा–नओर्लंदै दिल्लीले मोदीको नेपाल भ्रमणको मितिसहितको सन्देश पठाइसकेको छ । नयाँदिल्लीको मिति किटानीले नेपाली पक्षलाई अप्ठ्यारोमा पारेको अधिकारीहरूको भनाइ छ ।

‘हामीसँग सल्लाहै नगरी एकपक्षीय ढंगले मिति तोकिएको छ,’ काठमाडौंस्थित एक उच्च अधिकारीले कान्तिपुरसँग भने । मोदीको भ्रमण मिति तोक्दा नयाँदिल्लीले फेरि एकपटक आफ्नो अनुकूलतामात्र हेर्न खोजेको देखिन्छ । भारतको दक्षिणी राज्य कर्नाटकमा १२ मेमा विधानसभा चुनाव हुँदै छ, जसलाई मोदीको पार्टी सत्ताधारी भाजपा र विपक्षीहरूले पनि प्रतिष्ठाको लडाइँका रूपमा लिएका छन् । तमिलनाडु, केरलालगायत राज्यबाट विस्तारै फैलँदै गएको मोदी सरकारविरुद्धको जनमतलाई कर्नाटकबाटै रोक्न भाजपाले पूरै शक्ति लगाएको छ । भाजपा अध्यक्ष अमित शाह अड्डा नै जमाएर बसेका छन् त्यहाँ ।

हाल युरोप भ्रमणमा रहेका मोदी पनि स्वदेश फर्कनासाथ कर्नाटक लाग्नेछन् । कंग्रेस आईलगायत विपक्षी दलले पनि कर्नाटकबाटै मोदी सरकारविरुद्ध माहोल तताउने रणनीति बुनेका छन् । आगामी वर्ष हुने संघीय संसद्को चुनावका लागि कर्नाटकको चुनावले निर्णायक भूमिका खेल्ने सत्ताधारी र विपक्षी दुवैको बुझाइ छ । आफ्नो दोस्रो कार्यकालका लागि निर्णायक मानिएको चुनावलाई मोदीले पनि गम्भीर रूपमा लिएको देखिन्छ । त्यसैले चुनाव प्रचार गर्ने अन्तिम दिनसम्म पनि मोदी कर्नाटकमै रहनेछन् ।

चुनावको ४८ घण्टाअघिदेखि निषेधाज्ञा लागेपछि उनी दिल्ली फर्कने र लगत्तै काठमाडौं प्रस्थान गर्ने कार्यक्रम बनाइएको छ । प्रधानमन्त्रीको चुनावी कार्यक्रम अनुकूल हुने गरी नै दिल्लीले नेपाल भ्रमणको मिति तोकेको सहजै बुझ्न सकिन्छ ।

चुनावी दौडधुपलगत्तै नेपाल भ्रमणमा जानुका पछाडि प्रधानमन्त्री ओलीको सम्भावित चीन भ्रमणलाई केही पछि धकेल्नु पनि रहेको स्रोतले बताएको छ ।चीनसँगको निकट सम्बन्ध र भारतविरोधी जनमतमा टेकेर ओली सत्तामा पुगेको दिल्लीका अधिकारीहरूको बुझाइ छ । पछिल्लो भ्रमणबाट केही आश्वस्तजस्तो देखिए पनि ओलीको चीन भ्रमणका बेला हुन सक्ने सम्झौता र समझदारीप्रति दिल्ली निकै चनाखो देखिन्छ ।

त्यही आशंकाबीच ओलीको चीन भ्रमणअगावै मोदीलाई काठमाडौं उतार्ने रणनीति दिल्लीले बनाएको हो । ‘मोदी नेपाल भ्रमणमा छिट्टै आउन खोज्नु भारत शक्तिशाली प्रधानमन्त्री ओलीसँग सम्बन्ध बनाइराख्न चाहन्छ भन्ने सन्देश नै हो,’ परराष्ट्र मामिलाका जानकार निश्चलनाथ पाण्डेले भने, ‘ओलीको चीन भ्रमणको मिति यकिन नभइसकेकाले पनि भारतबाट प्रस्ताव आएको हुनुपर्छ ।’

त्यसो त उच्चस्तरीय भ्रमणको मिति नयाँदिल्लीबाटै तय हुने प्रचलन नयाँ भने होइन । राष्ट्रपतिदेखि प्रधानमन्त्रीको भारत भ्रमण होस् वा भारतबाट हुने त्यही स्तरको भ्रमण सबैमा भारतीय पक्ष निर्णायक बन्दै आएको छ । त्यसैको पछिल्लो उदाहरण ओलीको भारत भ्रमण हो । काठमाडौंमा ओलीको भ्रमणको मिति यकिन गर्न छलफल सुरु हुनुअगावै दिल्लीले मिति तोकेको र त्यसलाई सार्वजनिक गरिदिएको थियो ।

२३–२५ चैतमा प्रधानमन्त्री ओलीलाई स्वागत गर्न आफू तयार रहेको सन्देश दिल्लीले दुई साताअघि नै काठमाडौंलाई दिएको थियो । उक्त सन्देश सञ्चार माध्यमहरूमार्फत सार्वजनिक भएपछि नेपाली अधिकारीहरू अवाक् बनेका थिए । र, उनीहरू ‘त्यो त भारतको प्रस्ताव हो, हामीले भ्रमणको निर्णय गरिसकेका छैनौं’ बताइरहेका थिए । भारतीय अधिकारीहरूको आग्रहमा नेपाली पक्षबाट औपचारिक रूपमा भ्रमणको मिति सार्वजनिक नगरिएको नेपालको परराष्ट्र मन्त्रालयले बताइरहँदा भारतले भने आफूले प्रस्ताव गरेकै मितिमा भ्रमणको तयारी बढाइसकेको थियो । र, पछि ढिलो गरी नेपालको परराष्ट्र मन्त्रालयले सार्वजनिक भएको मितिमै प्रधानमन्त्री भारत जाने तय गर्‍यो । प्रधानमन्त्री ओली त्यो भ्रमणमा जाँदा त्यसै समय चीनमा भइरहेको उच्चस्तरीय बोआवो सम्मेलनमा उनको उपस्थिति प्राविधिक कारणले असम्भव हुन पुगेको थियो ।

‘गला मिल्दैमा सम्बन्ध सुध्रिन्न’

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले उच्चस्तरीय राजनीतिक भ्रमणले मात्र दुई देशबीचको सम्बन्धमा रहेका समस्या र अविश्वास नहट्ने दाबी गरेका छन् । भ्रमण हुनु आफैंमा गलत नभए पनि भित्री संरचनागत समस्या हल नभएसम्म पछिल्ला समय भएका ‘देखावटी र तामझामपूर्ण भ्रमण’ को कुनै अर्थ नरहेको उनले बताए ।

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) ले दिने संयुक्त प्रतिवेदनले दुवै देशको सम्बन्ध कसरी अगाडि बढ्छ भन्ने निक्र्योल गर्ने भट्टराईको दाबी छ । ‘सन् १९५० को सन्धि पुनरावलोकन र सीमालगायत सबै समस्या समाधान गरेर नयाँ ढंगले अघि बढ्यो भने नेपाल–भारतबीचको सम्बन्ध सुध्रियो भन्ने बुझ्नुपर्छ । अन्यथा मोदीजी र ओलीजीको गला मिल्दैमा केही हुँदैन,’ उनले भने ।

भारत र चीन भ्रमणका लागि भइरहेको तानातान अर्थहीन रहेको उनले बताए । यस्ता को कता जाने जस्ता सतही कुरा भन्दा पनि मूल विषयको समाधानमा केन्द्रित हुनुपर्ने भट्टराईको भनाइ छ । ‘मोदीजी नेपाल जाने कि ओलीजी चीन पहिले जाने यस्ता कुराको कुनै अर्थ छैन, भ्रमणका लागि भ्रमण गर्नुभन्दा पनि मूल विषयमा केन्द्रित भएर भेटघाट हुनुपर्छ, अनि मात्र यस्ता भ्रमणको अर्थ रहन्छ,’ नयाँ शक्ति पार्टीको भारतस्थित प्रवासी संगठन अन्तर्राष्ट्रिय नेपाली समाज सञ्जालले नयाँदिल्लीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा प्रशिक्षणका क्रममा दिल्ली रहेका पूर्वप्रधानमन्त्री भट्टराईले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -