काठमाडौं । कोरोना भाइरसको संक्रमण उच्च तबरले बढिरहेको अहिलेको समयमा स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना नगरी परीक्षा सञ्चालनमा ल्याएकोप्रति नेपाल विद्यार्थी संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महामन्त्री बलदेव तिमल्सिनाले आज विज्ञप्ति जारी गर्दै र उल्टो विद्यार्थीहरूमाथि गरिएको धरपकड र दमनप्रति गरिएको भन्दै विरोध गरेका छन् ।
विद्यार्थीहरूको स्वास्थ्यमा आउनसक्ने जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालना गराउन र परीक्षा सञ्चालनमा वैकल्पिक उपाय अपनाइ परीक्षार्थीको स्वास्थ्यसम्बन्धी अधिकारमा संवेदनशील हुन सरकार, विश्वविद्यालय तथा सम्बद्ध सबै निकायलाई नेविसंघले अपिलसमेत गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयद्वारा सञ्चालित एलएलबी चौथो वर्षको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्ने माग गर्दै काठमाडौंको बुद्धनगरस्थित कान्तिपुर इन्टरनेसनल कलेजमा विद्यार्थीबाट भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप भएकोमा पनि सरकारको नेतृत्व गरिहेको नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले आपत्ति प्रकट गरेको छ ।
नेविसंघ चक्रवर्ती ल कलेज इकाइ अध्यक्ष अभिनवसिंह राठौर, सचिव सुरज रेग्मी, प्रभात ठाकुर, जित यादवलगायत ११ जनालाई नियन्त्रणमा लिइएको र केही विद्यार्थी घाइते भएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण भएको महामन्त्री तिमल्सिनाले जनाएका छन् ।
‘कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिरहेको तथा परीक्षा सञ्चालनका क्रममा स्वास्थ्यको मापदण्ड पालना नहुँदा विद्यार्थीको ज्यान जोखिममा पर्नसक्ने हुँदा हाल चलिरहेको त्रिवि, पूर्वाञ्चललगायत सबै विश्वविद्यालयका सबै संकाय र कार्यक्रमअन्तर्गत सञ्चालित परीक्षा तथा सिटिइभिटी, शिक्षालय, विद्यालय एवं सम्पूर्ण तह र विषयका परीक्षालाई अनलाइन वा अन्य वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नेविसंघ माग गर्दछ’। विज्ञप्तिमा भनिएको छ ।








































