काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले १० जना केन्द्रीय सदस्य मनोनयनमै पार्टी शेरबहादुर देउवाले गुटबन्दी सुरु गरेको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग विशेष कुराकानी गर्दै नेता कोइरालाले भने, “नेपाली कांग्रेको समस्या के हो भने सभापतिले नै गुटबन्दी गर्न थालिसक्नुभयो । १० जना केन्द्रीय सदस्य मनोनयन गर्दा महेश आचार्य, चन्द्र भण्डारी, मीनेन्द्र रिजाल र प्रदीप पौडेललाई किन गर्नुभएन ? अब पार्टीका साथीहरुले पक्कै सोध्नुहुन्छ ।”
पराजित हुनेलाई केन्द्रीय सदस्यमा ल्याउनुपर्ने बाध्यता त छैन नि भन्ने पत्रकार धमलाको प्रश्नमा डा. कोइरालाले थपे, “बाध्यता छैन भने १० जनामा ५ जना पराजित उम्मेदवारलाई किन ल्याउनुभयो त ? शेरबहादुरजीले गुटको बिजारोपण मनोनीतबाट सुरु गरिसक्नुभयो । मनोनयन गर्न बाँकी छ भन्ने हो भने रामचन्द्र पौडेलजीलाई मात्र एक्लै किन गर्नुभएन ? एक्लै केन्द्रीय सदस्य बनाएको भए पो रामचन्द्रजीलाई सम्मान हुन्थ्यो । पार्टीभित्र ती ५ जनाको जरुरी छ भन्ने हो भने महेश आचार्य, चन्द्र भण्डारी, मीनेन्द्र रिजालको पनि जरुरी छ ।”
“भागबन्डा रामचन्द्रजी र शेरबहादुरजी दुवैको गल्ती हो”
उनले अब पार्टीमा ६० ४० को भागबन्डा नहुने पनि बताए । उनले भने, “मनोनयन सभापतिको अधिकार हो । यसमा हामीले बोल्ने होइन । हामीले त अब गुटबन्दी नगर्नुस् भनेको हो । हिजो ६०-४० को भागबन्डा गरेर रामचन्द्रजीले पनि गलत गर्नुभयो, शेरबहादुरजीले पनि गलत गर्नुभयो । मेरा लागि ६०-४० महत्त्वपूर्ण होइन । शेरबहादुरजी विधिसम्मत हिँड्नुभयो भने ठीकै छ नि । हामी तीनवटा निर्वाचनमा फोकस हुन्छौं ।”
आफूले हारे पनि कांग्रेस र लोकतन्त्रले जितेको उनले बताए । उनले थपे, “व्यक्तिको हारजितभन्दा पनि कांग्रेसले हार्यो कि जित्यो ? त्यो महत्त्वपूर्ण हो । कांग्रेसले जितेको छ । लोकतन्त्रले जितेको छ । अधिवेशन हुँदैन भन्ने शंशय थियो । मेरो कारणबाट नेपाली कांग्रेसमा आन्तरिक लोकतन्त्र बलियो भएको छ ।”
“के १८ सय ५५ जना कोइराला परिवारका थिए त ?”
धेरैचोटि शेरबहादुर देउवा कोइराला परिवारबाट पराजित हुनुभयो, यसपटक शेरबहादुर देउवाबाट कोइराला परिवारको पराजय हुनुको कारण के हो भन्ने पत्रकार धमलाको प्रश्नमा डा. कोइरालाले भने, “बितिसकेका कुरालाई समीक्षा गरेर के फाइदा ? गर्नु पनि हुँदैन । तर कोइराला परिवार पराजित भएको भन्नु गलत प्रचारबाजी हो । के १८ सय ५५ जना सबै कोइराला परिवारका थिए त ? नेपाली कांग्रेसमा कोइराला परिवारले नै जित्नुपर्छ भन्ने पनि छैन । सबै ठूला नेताहरु एकातिर थिए, म एक्लै लडेको थिएँ । मैले हारेर पनि जितेको छु । लोकतन्त्र र कांग्रेसले जितेको छ ।”
आफ्नो टिम बनाउँदा तपाईंबाट कुनै गल्ती भएन त भन्ने अर्को प्रश्नमा उनले भने, “मबाट टिम बनाउँदा कमीकमजोरी भएन भन्न सक्दिनँ । तर पदाधिकारीको अत्यन्त राम्रो टिम थियो । अरुभन्दा पनि मैले मेरो भाइ र बहिनीलाई मिलाउन सकिनँ । रामचन्द्रजीलाई पनि मनाउन सकिनँ । त्यसमा मेरो कमजोरी भयो । मेरा भाइबहिनीले बीपी कोइरालाले टाटा मेमोरियल क्यान्सर अस्पतालबाट मेरा पिता केशवप्रसाद कोइरालालाई पठाएको चिठी बुझ्न चाहेनन् । म अहिले विराटनगरमा छु । म भोट दिने र नदिने सबैलाई संरक्षण दिने कुरामा प्रतिबद्ध छु । पूर्वाग्रही हुने हो भने राजनीति नगरे पनि हुन्छ ।”
“महाधिवेशन प्रतिनिधिले वरियता मिलाइसकेका छन्”
तपाईंले त २० औं वरियतामै चित्त बुझाउनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा डा. कोइरालाले भने, “म नैतिकता र संस्कार बोकेको परिवारको सदस्य हुँ । म झिनामसिना कुरामा जान चाहन्न । मलाई १८ सय ५५ जना साथीहरुले मत दिएर मेरो वरियता राखिसक्नुभएको छ । त्यति भए पुग्यो मलाई । डा. शेखर कोइरालालाई २० नम्बरमा किन राख्नुभयो ? शेरबहादुरजीलाई नै सोध्नुस् । कसलाई कहाँ राख्ने मेरो सरोकारको विषय होइन । नेपाली कांग्रेसको विधान, पद्धति अनुसार गर्नुभएको होला सभापतिले । सभापतिले गलत काम गरे म बोल्छु, विधानसम्मत कुरामा मैले बोलेर के फाइदा ?”
कांग्रेसमा वरियताको किचलो निकै पुरानो भएको पनि उनले बताए । उनले भने, “तेह्रौं महाधिवेशनपछि वरियता नमिलेको भन्दै गोपालमान श्रेष्ठले डेढ वर्षसम्म सिग्नेचर गर्नुभएन । पार्टीले कमिटी बनायो । उहाँलाई आगाडि राखेपछि भंग भयो । सभापतिले नै वरियता दिनुहुन्न भने मैले के गर्ने त ?”
“फेरि सभापतिमा उठ्दिनँ भनेको छैन”
तपाईंले सभापतिको प्रतिस्पर्धामा विमलेन्द्र निधिको समर्थन पाउनुभएन । प्रदेश २ मा त निधिका उम्मेदवारलाई समर्थन गर्नुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपे, “यो आन्तरिक प्रतिस्पर्धा हो । हामी कम्युनिस्टसित प्रतिस्पर्धा गर्दै छैनौं नि । पार्टीकै साथीले जित्ने हो, पार्टीकै साथीले हार्ने हो । यो हामीले बनाएको महाभारत होइन, मिडियाले महाभारत बनाएको हो । मिडियाले बबाल गरेको हो । सभापतिको प्रतिस्पर्धामा निधिले मलाई के कति कारणले गर्नुभएन, उहाँलाई नै सोध्नुस् । प्रदेश २ मा मैले छुट्टै टिम बनाउने भनेको हुँ । मैले साथीहरुलाई बुझाउन सकिनँ ।”
केन्द्रीय समितिमा दुई तिहाइ ल्याउन सफल भएकामा देउवालाई बधाई पनि दिए । उनले भने, “शेरबहादुरजी शक्तिशाली बनेको हेर्ने मेरो पनि चाहना हो । उहाँ एउटै पार्टीका साथी हो । सिनियर हो, सभापति हो । हामी मिलेर नै जाने हो ।”
शेरबहादुर देउवा तीनतीन चोटि पराजित हुँदा पनि लड्न छाड्नुभएन, तपाईं त एक पटकमै सभापति उठ्दिनँ भनेर हिँड्नुभयो नि भन्ने प्रश्नमा उनले भने, तपाईंहरुले कसरी बुझ्नुभयो कुन्नि ? मैले भनेको थिएँ- समय, काल र परिस्थितिले मलाई जहाँ पुर्याउँछ, म त्यहीँ बस्छु । मैले कहाँ के भनेको छु, रेकर्ड खोलेर हेरेर हुन्छ । म जिल्लाजिल्ला घुमिरहन्छु । मैले यो हुन्छु, त्यो हुन्छु भनेर हुँदैन । साथीहरुले जहाँ राख्नुहुन्छ, त्यहाँ बस्छु ।”
“प्रचण्ड र माधव नेपाललाई कांग्रेसले किन सिट छाड्ने ?”
नेता डा. कोइरालाले राष्ट्रिय सभा निर्वाचनसम्म मात्र गठबन्धन रहने बताए । उनले थपे, “हामी राष्ट्रिय सभाको निर्वाचनसम्म गठबन्धनमा जान्छौं । आगामी केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचनमा कांग्रेस आफ्नै बलबुतामा लड्छ कांग्रेस । कसैले २०, ३० वटा सिट दिएर कदापि जान सक्दैन । ठूलो पार्टी त हामी एमाले र माओवादी मिल्दा पनि थियौं । अब त्यसलाई बढाउनुपर्छ । जो कमजोर हुन्छ, त्यसले गठबन्धन गर्छ । नेपाली कांग्रेस कमजोर छैन । प्रचण्ड र माधव नेपाललाई हामीले किन सिट छाड्ने ?” उनले आगामी चुनावमा केपी शर्मा ओलीको तुजुक पनि हेरिने बताए ।
नेता डा. कोइरालाले आफूले एमसीसी सम्झौता डिटेलमा नहेरेको बताए । उनले भने, “एमसीसी आयो भने ऊर्जा सेक्टरमा राम्रै हुन्छ । कम्युनिस्ट साथीहरुले इन्डो प्यासिफिकका कुरा ल्याउनुभएको छ । चीन र रुसको बीचमा रहेको मंगोलियाले दोस्रो एमसीसी लिइसक्यो, बीआरआईको पनि दोस्रो परियोजना पनि लिइसक्यो । त्यसलाई हेरेर निर्णय गरे पनि हुन्थ्यो ।”
“प्रधानन्यायाधीशले ऋषि धमलालाई इन्टरभ्यू दिने ?”
उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायालयलाई निकास दिनुपर्ने औंल्याए । उनले भने, “प्रधानन्यायाधीशले म कहाँ छु भन्ने विचार गर्नुपर्छ । यस सवालमा राज्यले पनि चुप लागेर बस्छु भन्न पाउँदैन । हस्तक्षेप भन्दा पनि कुराकानी सुरु गर्नुपर्छ । यसरी न्यायपालिका कुन देशमा चल्छ ? प्रधानन्यायाधीशले न्यायाधीशलाई मिलाउन नसकेपछि निकास दिनुपर्छ कि पर्दैन ? संस्थाको जिम्मेवारी फस्टम्यानले लिने हो कि सेकेन्ड म्यानले ? न्यायपालिकाको अव्यवस्था चिफले नै सल्टाउने हो ।”
उनले प्रधानन्यायाधीश राणाले प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता दिनु गलत भएको बताए । डा. कोइरालाले भने, “म प्रधानन्यायाधीशको विरुद्धमा उभिएको होइन । तर, उहाँले ऋषि धमलालाई टेलिभिजन च्यानलमा इन्टरभ्यू दिनु नै गलत हो । प्रधानन्यायाधीशले इन्टरभ्यू दिँदै हिँड्न मिल्छ ? लोकतन्त्र भनेको छाडातन्त्र होइन । उहाँले पोस्ट मात्र हेर्ने कि मुलुकलाइ हेर्ने ?”
रिपोर्टर्स कल्व








































