मनाङमा मंगलबारदेखि परेको हिमपातले अवरुद्ध मनाङको सदरमुकाम चामे वरपरको सडक सेना प्रहरीले बिहीबार खुलाएको छ । जिल्ला सदरमुकाम चामेको बजार क्षेत्रमा अवरुद्ध सडक प्रहरी परिचालन गरी खुला गरेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
जिल्लास्थित नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा हिउँ पन्छाएर बाटो खुलाइएको हो । सडक छेउ वरपरको हिउँ हटाएपछि सदरमुकामस्थित जिल्ला अस्पतालसहित विभिन्न सेवा प्रदायक सरकारी कार्यालय र विद्यालयसम्म सहज हिँड्न सकिने भएको सशस्त्र प्रहरी मनाङका प्रमुख एवं प्रहरी नायब उपरीक्षक अर्जुन पौडेलले बताए ।
मंगलबार साँझदेखि बुधबार दिनभर मनाङमा भारी हिमपात भएको थियो । हिमपातका कारण मनाङको यातायात पूर्णरूपमा बन्द भएको छ । बिहीबार भने सदरमुकाम चामेमा सामान्य घाम लागेको र शुक्रबार पनि मौसमले साथ दिए शनिबारसम्म सडक यातायात पनि सुचारु गर्न सकिने मनाङ प्रशासनले जनाएको छ ।
सडक यातायात सुचारु गर्नका लागि सडक डिभिजन कार्यालयलाई अनुरोध गरिएको प्रजिअ आचार्याले बताए । बाक्लो हिमपातका कारण मनाङमा दानाक्युदेखि नै यातायात अवरुद्ध रहेको छ । सडक डिभिजनको एक्जाभेटर प्रयोग गरी सडकको हिउँ फाल्ने र यातायात सुचारु गराउने प्रयास गरिएको प्रजिअ आचार्यले बताए ।








































