काठमाडौं । नेपाली क्रिकेट टिमका नवनियुक्त प्रशिक्षक पुबुदु दासानायकेले राष्ट्रिय क्रिकेट टिमको कप्तान परिवर्तनको अधिकार नेपाल क्रिकेट संघ (क्यान)लाई हुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा दासानायकेले कप्तान परिवर्तनको अधिकार क्यानलाई हुने बताएका हुन् ।
केही समय अगाडि मात्रै क्यानले ग्रेडिङमा असन्तुष्टि जनाएको भन्दै ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको छ । यसबारे खेलाडीहरूले भने निर्णय पुर्नविचार गर्नुपर्ने बताउँदै आएका छन् ।
त्यस्तै प्रशिक्षक दासानायकेले आफू दोस्रो पटक नेपाल आउन पाउँदा खुसी लागेको बताए । उनले भनेका छन्, ‘२०११ मा आउँदा नेपाल डिभिजन ४ मा थियो । छुट्टै चुनौती थियो । अहिले आउँदा नेपाल टी–२० र ओडीआई कन्ट्री भएको छ ।’
नेपाली युवा खेलाडीमा प्रतिभा रहेको भन्दै उनले अन्य एसोसिएट देशमा यस्तो नदेखिएको बताए ।









































