काइलियन एमबाप्पेले तत्काल पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने कुनै योजना नरहेको बताएका छन् । एमबाप्पेको नाम लामो समयदेखि युरोपका विभिन्न क्लबसँग जोडिएको छ । तर, एमबाप्पेले पीएसजीबाटै उपाधि जित्न चाहेको बताएका छन् ।
यसै सिजनको सुरुमा २३ वर्षीय फरवार्ड एमबाप्पेलाई स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडले अनुबन्ध गर्नका लागि चासो देखाएको थियो । यस सिजनको अन्त्यसँगै एमबाप्पेको पीएसजीसँग सम्झौता समाप्त हुन्छ ।
त्यसपछि उनी रियाल अथवा जुनसकै क्लबमा जान पनि ‘फ्री’ हुनेछन् । तर, उनले आफू पीएसजीबाट उपाधि जित्नका लागि केन्द्रित भएको बताएका छन् । पीएसजीले आउँदो फेब्रुअरी १६ मा रियालविरुद्ध नै च्याम्पियन्स लिगको खेल खेल्नेछ ।
‘‘हामीले च्याम्पियन्स लिग, कप र लिगको उपाधि जित्नुपर्नेछ । त्यसका लागि म आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु । हाम्रो समर्थकहरूलाई खुसी बनाउने प्रयास गर्नेछु । किनकि, उनीहरू त्यसको हकदार छन्,’’ एमबाप्पेले सीएनएनसँगको कुराकानीमा भनेका छन् ।
एमबाप्पेले गएको जुलाईमा क्लबसँग आफूले क्लब छाड्ने कुरा गरेकोमा पनि कुनै पछुतो नभएको बताएका छन् । एमबाप्पेले थपे, ‘‘म इमानदार थिएँ । मनमा लागेको कुरा मैले भनेको हुँ । म यहाँ बस्न पाउँदा खुसी छु ।’’
एमबाप्पेले अर्जेन्टिनाका स्टार लियोनल मेसीसँग खेल्न पाउँदा रमाइलो लागेको पनि बताए । मेसी गएको अगस्टमा मात्र बार्सिलोनाबाट पीएसजीसँग अनुबन्ध भएका थिए ।
‘‘मेरा बच्चाहरूसँग र मेरा साथीहरूलाई मैले मेसीसँगै खेल्छु भन्न पाउनु ठूलो गर्वको कुरा हो,’’ एमबाप्पेले थपे, ‘‘उनलाई पेरिसमा देखेर हामीलाई खुसी लागेको छ । यो खेलकुद इतिहासमा एक अद्भूत क्षण हो ।’’









































