काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रमुख विपक्षी दल नेकपा एमालेमा विधिवत रुपमा जनवाद सकिएको बताएका छन् । चितवनमा जारी एमाले महाधिवेशनको बन्द सत्रलाई ‘ओली सेसन’को संज्ञा दिँदै उनले एमालेमा अब ओलीको डनवाद मात्र बाँकी भएको टिप्पणीसमेत गरेका छन् ।
आइतबार कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको १४औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले भने- ‘चितवनबाट फर्किँदै गरेको एमालेले पार्टीभित्रको जनवादलाई सकाएको मात्रै होइन, एमालेमा अब ओलीको डनवाद सुरु भएको छ । नारायणीको किनारमा कोही पनि मानिस स्वतन्त्र छैन, ‘बा’को पाउमा तेल लगाउने प्रतिस्पर्धा चलिरहेको छ । तर, त्याे प्रतिस्पर्धामा भाग नलिएका भीम रावलले भने झण्डै पिटाइ खाएर प्रहरीले सुरक्षा दिइरहेको अवस्था छ।’
नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको एमालेलाई कांग्रेसले तह लगाउने पनि बताएका छन् । ‘हिजो हतियारको राजनीतिमा लागेको माओवादीलाई ठीक बाटोमा ल्याएको जस्तै, नारायणी किनारमा बरालिएको एमालेलाई पनि कांग्रेसले ठीक पार्न सक्नुपर्छ ।’ उनले भने ।








































