काठमाडौं, मंगलबार, ७ मङ्सिर २०७८ । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ को सभापतिमा मुकुन्द रिजाल निर्वाचित भएका छन् ।
कांग्रेस काठमाडौं क्षेत्र नं ७ को सम्पन्न अधिवेशनमा रिजालले २ सय ४ मत प्राप्त गरी विजयी भएका हुन् । रिजाल काठमाडौं १६ का वडाध्यक्षसमेत हुन् । उनका निकटतम प्रतिद्वन्द्वी मनोहरि तिवारीले ५० मत प्राप्त गरे ।
यस्तै अरु पदमा पनि रिजाल समूहका उम्मेद्वार निर्वाचित भएका छन् । सचिवमा जनकराज उप्रेती (१६५), सृजना बुर्लाकोटी अर्याल (१७६), सहसचिवमा दीपेन्द्र थापामगर (१५७) र दिलीप अधिकारी (१६१) मत ल्याई विजय भएका छन् ।
रिजाल समूह नेता प्रकाशमान सिंह समूहका उम्मेद्वार हुन् । काठमाडौं क्षेत्र नं ७ मा २६६ क्षेत्रीय प्रतिनिधि रहेका थिए । काठमाडौं क्षेत्र नं ७ मा काठमाडौँ महानगरपालिका–१६, तारकेश्वर नगरपालिका र नागार्जुन नगरपालिकाको केही क्षेत्रहरु पर्दछन् ।








































