काठमाडौँ, बिहिबार, २५ कात्तिक २०७८ । ‘मेरो गणना मेरो सहभागिता’ मूल नाराका साथ १२ औँ राष्ट्रिय जनजणना शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी आज बिहान जनगणनाको शुभारम्भ गरिएको हो ।
राष्ट्रिय योजना आयोग र तथ्यांक विभागका प्रतिनिधि पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीको विवरण संकलन गरी जनगणनाको शुभारम्भ गरेको राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले जानकारी दिनुभयो ।
हरेक १० वर्षमा गरिने जनणना नेपालमा संघीयता कार्यान्वयन पछि पहिलो पटक हुन लागेको हो। केन्द्रीय तथ्यांक विभागको अनुसार राष्ट्रपतिको विवरण संकलनपछि उपराष्ट्रपति र प्रधानमन्त्रीको विवरण लिइएको छ ।
प्रदेशमा मुख्यमन्त्री, स्थानीय तहमा नगर तथा गाउँ प्रमुख र वडामा वडा अध्यक्षको विवरण लिएर जनगणना प्रारम्भ गरिने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिनुभयो । उहाँले जनगणना राष्ट्रिय महाअभियान भएकाले सबैले ढुक्क भएर गणकले सोधेका प्रश्नको जवाफ दिन आग्रह गर्नुभयो ।
मंसिर ९ गतेसम्म संचालन हुने जनगणनाका लागि ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक परिचालन गरिएको विभागले जनाएको छ। गणकहरुले एउटा परिवारलाई ८० वटा प्रश्न सोध्नेछन् ।








































