काठमाडौं, असोज ३१ गते । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंले यात्रुहरुले भुलवस छाडेका सामाग्री (व्यागेज) हरुको व्यवस्थापन हुन नसकेको पाइएको छ ।
विमानस्थलले यात्रुहरुले छाडेका सस्ता तथा महँगा सामाग्रीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने कार्यविधि आजसम्म नबनाइ कर्मचारीकै भरमा सामाग्री जिम्मा दिने गरेकाले प्रभावकारीतामा प्रश्न उठ्ने गरेको छ ।
विमानस्थल व्यवस्थापनले भेटिएका समाग्रीलाई आफ्नै कर्मचारीको जिम्मामा छाड्ने गर्दै आएको जनाएको छ, तर सम्वन्धित पक्षमा पुग्यो या पुगेन र कसरी व्यवस्थापन हुने गरेको छ भन्नेमा कुनै पनि अनुगमन पक्ष कम्जोर हुने गरेको छ । विमानस्थलले आफ्नो वेवसाइटमासमेत केही सामाग्रीहरु सार्वजनिक गर्ने गरेको पाइएको छ । छाडिएका सामाग्री जिम्मा लिएका विमानस्थलका कर्मचारी सन्तोसकुमार पोखरेलले भने आफूहरुले सकेसम्म सम्वन्धित पक्षलाई जिम्मा लगाउन कोसिस गर्ने तर सम्भावना नभए विमानस्थलमै स्टोर राख्दै आएको जानकारी दिनुभयो ।
उहाँका अनुसार विमानस्थलले छाडिएका यात्रुका सामाग्री सम्वन्धित व्यक्ति सम्पर्कमा नआए कति वर्षसम्म राख्ने र त्यसको व्यवस्थापन गर्ने भन्ने कुनै पनि कानुनी व्यवस्था नभएकाले समस्या हुने गरेको बताउनुभयो । विमानस्थलमा हाल १२ वर्ष भन्दा पुराना सामाग्रीहरु समेत रहेको उहाँले जानकारी दिनुभयो । छाडिएका सामाग्रीमा यात्रुको नाम र ट्याग मात्र हुने र सम्पर्क नम्बर नहुने भएकाले बुझाउन समस्या हुने गरेको पोखरेलले बताउनुभयो ।








































