काठमाडौं । दशैं शुरू भएसँगै उपत्यका छाड्नेहरुको संख्या बढ्न थालेको छ ।
यही असोज १ देखि ७ गतेसम्म भित्रिने र बाहिरिने यात्रु बराबर थिए । अहिले भने बाहिरिने यात्रु बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।
काठमाडौं भित्रिने र बाहिरिने यात्रुको संख्या विश्लेषण गर्दा अहिलेसम्म औपचारिक रूपमा १ लाखभन्दा बढी यात्रु काठमाडौंबाट बाहिरिएका छन् । प्रहरीको अभिलेखमा रहेका बाहेक समेत धेरै यात्रु बाहिरिएका छन् ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विस्तारै यात्रु बाहिरिने क्रम बढिरहेको र दशैं बिदा शुरू भएपछि भने यो संख्या अझै बढ्ने बताए । ‘अहिलेसम्म सामान्य रूपमा बढिरहेको छ, अब थप बढ्छ,’ उनले भने, ‘यात्रुको सहजताका लागि हामीले चुस्त ट्राफिक व्यवस्थापन मिलाएका छौं, बाहिरिने यात्रुका सहज व्यवस्थापनका लागि रातदिन नभनी प्रहरी खटाइएको छ ।’








































